उत्तर कोरियाली नेता किम जोन उनको स्वास्थ्य रहस्यमय

आर्थिक सञ्जाल २०७७ वैशाख १३ गते शनिबार
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोन उन गम्भीर रूपमा अस्वस्थ भएको विवरणहरु ‘सही नभएको’ बताएका छन् । ट्रम्पले उन गम्भीर विरामी भएको समाचार असत्य भएको दावी गरेका हुन् ।
‘उहाँ बिरामी भएको सूचना विभिन्न माध्यमबाट मैले पाएँ, मलाई लाग्छ उहाँ विरामी भएका विवरण अरु असत्य हुन्,’ कोभिड–१९ बारे नियमित सञ्चारकर्मीसँगको एक कुराकानीका सन्दर्भमा सोधिएको प्रश्नमा ट्रम्पले भनेका छन् । ‘मलाई लाग्छ किमको स्वास्थ्य अवस्थाबारेको रिपोर्ट सही छैन ।
मैले सुने अनुसार समाचार सार्वजनिक गर्ने ‘नेटवर्क’ले पूरानो कागजातलाई सूचनाको आधार बनाएको छ ।’ उक्त अवसरमा राष्ट्रपति ट्रम्पले उत्तर कोरिया र त्यसका सर्वोच्च नेता किम जोन उनसँग आफ्नो एकदमै राम्रो सम्वन्ध रहेको स्मरण पनि गरेका छन् । नेता किम स्वस्थ अवस्थामै रहेको उनले आशा व्यक्त गरेका छन् ।
उनले यसअघि गत मङ्गलबार उन गम्भीर अस्वस्थ भएको सूचना आएको भन्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । ‘उहाँ सिकिस्त विरामी हुनुभएको छ भन्ने विवरण मलाई प्राप्त भएको छ, अरु हामीलाई केही थाहा छैन, मैले केबल उहाँको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्न सक्दछु’ ट्रम्पले भनेका थिए ।
अमेरिकी गुप्तचर निकाय सिआइएका अधिकारीहरुले उत्तर कोरियाका सर्वोच्च नेता किमको खतरापूर्ण शल्यक्रिया गरिएको र सिकिस्त बिरामी भएको विवरण दिएपछि उनले यस्तो बताएका थिए । नेता किम यही अप्रिल १५ तारिखका दिन आफ्ना हजुर बुवाको जन्मोत्सव कार्यक्रममा पनि अनुपस्थित भएको समाचारहरू अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दिएका छन् ।
उनी त्यो भन्दा चार दिन अगाडि एउटा सरकारी बैठकमा भने देखिएको गुप्तचर निकायहरुको सूचनालाई उद्धृत गर्दै सिएनएनले जनाएको थियो । तर उत्तर कोरियाली सरकारी अधिकारीहरुले भने किम बिरामी भएको पुष्टि गरेका छैनन् ।
उनीहरुले पहिलाभन्दा अहिले कुनै फरक नरहेको दावी गरेका छन् । योन्ह्याप समाचार संस्थाले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै जनाए अनुसार उनीहरुले कुनै फरक नरहेको बताएका छन् । उत्तर कोरियाली राजनीतिक प्रणालीका कारण पर्याप्त र यथार्थ सूचना सहजै सार्वजनिक हुन नसक्ने भएकाले वेला वेलामा सूचना प्रतिको अन्यौलता सिर्जना हुने गर्दछ । कम्युनिस्ट पार्टीको सरकार रहेको उत्तर कोरियामा विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण देखिएको छैन । एजेन्सी