लुभ्र सङ्ग्रहालय प्रमुखले दिइन् राजीनामा
पेरिस । फ्रान्सको विश्वप्रसिद्ध लुभ्र सङ्ग्रहालयकी निर्देशक लरेन्स दे कार्सले बहुचर्चित गहना चोरी घटनापछि पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन समक्ष बुझाएकी हुन् ।
गत वर्ष अक्टोबर १९ मा चोरी भएको घटनामा चोरहरूले चोरी गरिएको सवारीमा जडित मेकानिकल लिफ्ट प्रयोग गरी सेन नदी नजिकको बाल्कोनीबाट संग्रहालयभित्र प्रवेश गरेका थिए । उक्त घटनामा करिब ८ करोड ८० लाख युरो मूल्य बराबरका आठवटा बहुमूल्य गहनाहरू चोरी भएका थिए । यी सामान अझै फेला परेका छैनन् ।
चोरी गरिएका गहनामा सम्राट नेपोलियन बोनापार्टले आफ्नी पत्नीलाई दिएका हिरा र पन्ना जडित हारसमेत रहेको बताइएको छ । घटनास्थलबाट भाग्ने क्रममा चोरहरूले महारानी यूजेनीको १९औँ शताब्दीको हिराजडित मुकुट भने खसालेका थिए, जसमा सामान्य क्षति पुगेको भनिएको छ । सङ्ग्रहालयका अनुसार उक्त मुकुट मर्मतपछि पूर्ण रूपमा पुनः स्थापित गर्न सकिने अवस्थामा छ ।
घटनापछि दे कार्सले सङ्ग्रहालय वरिपरिको सिसिटिभी प्रणाली कमजोर र पुरानो रहेको स्वीकार गरेकी थिइन् । चोरी भएको क्षेत्रमा निगरानी गर्ने एक मात्र क्यामेरा बाल्कोनीतर्फ नफर्किएको पाइएको थियो ।
सन २०२१ देखि निर्देशक रहेकी दे कार्सले सिसिटिभी क्यामेराको संख्या दोब्बर बनाउने योजना अघि सारेकी थिइन्। घटनाको कमजोरीबारे संसदीय छानबिन जारी छ ।
























