citizens life insurance long ad
stcnepal long ad

रुस–युक्रेन युद्ध अन्त्य गर्न नोभेम्बरमा फेरि वार्ता, पुटिन सहमत

Nimb long ad
Prabhu Insurance Long Ad

रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ पहल सुरु भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र युक्रेनसँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न सैद्धान्तिक सहमति जनाएका छन् ।

क्रेमलिनका अधिकारीका अनुसार आगामी नोभेम्बर १० पछि वार्ता हुन सक्नेछ । यस वर्षको फेब्रुअरीपछि रोकिएको त्रिपक्षीय वार्ता फेरि सुरु गर्ने प्रयासलाई युद्ध अन्त्य गर्ने कूटनीतिक प्रक्रियाको नयाँ चरणका रूपमा हेरिएको छ । तर वार्ताको मिति, सहभागीको तह र ठोस एजेन्डाबारे अझै अन्तिम निर्णय भइसकेको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र पुटिनबीच बुधबार रुसको सेन्ट पिटर्सबर्गमा करिब तीन घण्टा छलफल भएको थियो ।

त्यसपछि पुटिनका विदेश मामिला सल्लाहकार युरी उशाकोभले रुस आगामी महिना अमेरिका र युक्रेनसँग वार्ता पुनः सुरु गर्न सैद्धान्तिक रूपमा तयार रहेको बताएका हुन् ।

उशाकोभका अनुसार प्रस्तावित वार्ताको प्रमुख विषय युद्ध अन्त्य भएपछि रुस र युक्रेनबीचको सुरक्षा व्यवस्था निर्माण गर्नु हुनेछ । विटकफले यसअघि नर्वेको राजधानी ओस्लोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग गरेको छलफलका विषयमा पनि पुटिनलाई जानकारी गराएका थिए ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि वार्ता चाँडै सुरु गर्ने अमेरिकी प्रयासलाई समर्थन गरेका छन् । युद्ध अन्त्य गर्ने, शान्तिलाई नजिक ल्याउने र शीर्ष नेताहरूबीचको बैठकका लागि वातावरण तयार पार्ने विषय अहिलेको प्राथमिकता भएको उनको भनाइ छ ।

तर जेलेन्स्कीले रुसले यसअघि पनि वार्ता गर्न तयार रहेको बताउने र पछि प्रक्रिया रद्द हुने गरेको अनुभव स्मरण गराएका छन् । त्यसैले यसपटक पनि वार्ता साँच्चिकै अघि बढ्छ कि बढ्दैन भन्ने विषयमा उनले सावधानी अपनाएका छन् ।

यसअघि सन् २०२६ को जनवरी र फेब्रुअरीमा संयुक्त अरब इमिरेट्सको अबुधाबीमा दुई चरणमा तथा फेब्रुअरीमै जेनेभामा थप छलफल भएको थियो । ती वार्ताबाट युद्धबन्दी आदानप्रदानबाहेक ठोस प्रगति हुन सकेको थिएन । दुवै पक्ष आफ्ना आधारभूत मागमा अडिग रहेपछि वार्ता निष्कर्षविहीन बनेको थियो ।

रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासमा सबैभन्दा जटिल विषयमध्ये भूभाग र युद्धपछिको सुरक्षा व्यवस्था प्रमुख छन् । रुसले आफूले नियन्त्रणमा लिएका क्षेत्र तथा युद्ध सुरु हुनुका कारणसम्बन्धी आफ्ना मागलाई महत्त्व दिँदै आएको छ । युक्रेनले भने आफ्नो भूभागसम्बन्धी दाबी छाड्न अस्वीकार गर्दै आएको छ । युद्धपछिको सुरक्षा प्रत्याभूति र युक्रेनको भविष्यको सुरक्षा संरचनाबारे पनि दुवै पक्षबीच मतभेद छन् ।

कूटनीतिक पहल अघि बढिरहेका बेला युक्रेनमा रुसी आक्रमण जारी छन् । एसोसिएटेड प्रेसका अनुसार बुधबार राति किभमा भएका रुसी आक्रमणमा तीन जनाको मृत्यु भएको र १२ जना घाइते भएका थिए । खार्किभ क्षेत्रनजिक ड्रोन आक्रमणमा थप दुई जनाको मृत्यु भएको र ११ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

रुसले भने आफ्ना आक्रमणले सैन्य तथा अन्य पूर्वाधारलाई लक्षित गरेको जनाएको छ । दुवै पक्षबीच लामो दूरीका हवाई तथा ड्रोन आक्रमण जारी रहनुले युद्धविरामको घोषणा र त्यसको कार्यान्वयनबीच ठूलो चुनौती रहेको देखाउँछ ।

IME Life
kumari