stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

युक्रेनले ९० अर्ब युरो ऋण सैन्य आवश्यकतामा खर्च गर्ने ईयूको घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad
national life

युरोपेली सङ्घ (इयू) ले युक्रेनका लागि उपलब्ध गराउने ९० अर्ब युरोको ऋण प्याकेजको ठूलो हिस्सा सैन्य क्षेत्रमा खर्च गर्ने घोषणा गरेको छ। ब्रसेल्सले बुधबार सार्वजनिक गरे अनुसार यस ऋणको दुई तिहाइ रकम किएभको सैन्य संयन्त्रलाई सुदृढ बनाउन प्रयोग गरिनेछ भने बाँकी रकम सामान्य बजेट र प्रशासनिक कार्यका लागि छुट्याइएको छ।

महिनौँसम्म चलेको कूटनीतिक विवादपछि डिसेम्बरमा इयू सदस्य राष्ट्रहरू यो ठूलो परिमाणको सैन्य सहयोग उपलब्ध गराउन सहमत भएका हुन्।

रूसले युक्रेनमाथि सुरु गरेको आक्रमण पाँचौँ वर्षमा प्रवेश गर्न लाग्दा नगद अभाव झेलिरहेको किएभका लागि यो ऋण निकै महत्त्वपूर्ण मानिएको छ।

इयू प्रमुख उर्सुला भोन डेर लेयनले यस सहयोगले युक्रेनलाई युद्धको मैदानमा आफ्नो प्रतिरक्षा बलियो बनाउन र राज्यका आधारभूत सेवाहरू सुचारु राख्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन्। उनले यो कोष मुख्यतया युक्रेन र युरोपेली देशहरूबाटै हतियार खरिद गर्न प्रयोग गरिने जानकारी समेत दिइन्।

युरोपको रक्षा उद्योगलाई बलियो बनाउन र अमेरिकामाथिको निर्भरता कम गर्न फ्रान्स लगायतका देशहरूले राख्दै आएको अडानलाई यस ऋण प्याकेजले सम्बोधन गरेको देखिन्छ।

यद्यपि, आवश्यक सैन्य उपकरणहरू युरोपमा उपलब्ध नभएको खण्डमा युक्रेनले युरोप बाहिरबाट पनि खरिद गर्न सक्ने लचकता अपनाइएको छ। भोन डेर लेयनका अनुसार यो लगानीले युरोपमा रोजगारी सिर्जना, अनुसन्धान र विकासमा समेत सकारात्मक प्रतिफल दिनेछ।

रुसी केन्द्रीय बैंकको रोक्का गरिएको सम्पत्ति प्रयोग गर्ने योजना असफल भएपछि इयूका नेताहरूले साझा बजेटमार्फत यो ऋणको ग्यारेन्टी गर्ने सम्झौता गरेका थिए।

अब यस ऋणलाई युरोपेली संसद् र सदस्य राष्ट्रहरूले अन्तिम अनुमोदन गरेपछि मात्र भुक्तानी प्रक्रिया सुरु हुनेछ। यस ऋणको वार्षिक करिब तीन अर्ब युरो बराबरको ब्याज भने ब्रसेल्सले आफ्नै बजेटबाट बेहोर्ने तय भएको छ।

prabhu mahalaxmi
kumari