नेपाल पुनर्बिमा कम्पनीले नाफा बढायो
काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ । कम्पनीले चौथो त्रैमाससम्ममा निर्जीवन बिमा व्यवसाय तर्फ ५६ करोड ५० लाख ४४ हजार रुपैयाँ नाफा कमाएको छ भने जीवन बिमातर्फ १० करोड ८८ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरको विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा निर्जीवनतर्फ ५७ करोड ५३ लाख ५६ हजार रुपैयाँ र जीवन बिमातर्फ ३ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिसम्म दुवै बीमा व्यवसाय मार्फत ६७ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १०.४४ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसले ६१ करोड १ लाख रुपैयाँ नाफा कमाएको थियो ।
लगानी कर्जा र अन्य आयबाट हुने आम्दानी बढ्नाले यसको नाफा पनि बढेको हो । उक्त आय १० करोड ८१ लाख रुपैयाँले बढेर १ अर्ब ३ करोड २४ लाख रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्म यस कम्पनीले निर्जीवन व्यवसायबाट ८ अर्ब ८७ करोड ६७ लाख ७१ हजार रुपैयाँ र जीवन बिमा व्यवसायबाट १ अर्ब ८८ करोड ९८ लाख १८ हजार रुपैयाँ खुद बिमा शुल्क संकलन गरेको छ ।
यस अवधिसम्म पुनर्बिमा कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । असारसम्म यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ६ अर्ब १३ करोड २ लाख रुपैयाँ र जीवन बिमातर्फ ६९ करोड ७६ लाख ६९ हजार रुपैयाँ जम्मा भएको छ ।
अघिल्लो वर्षको सोही अवधिको तुलनामा निर्जीवन र जीवन दुवैको जगेडा कोष बढेको छ ।
अघिल्लो वर्ष निर्जीवनतर्फ २ अर्ब ४० करोड ९६ लाख रुपैयाँ र जीवनतर्फ ५१ करोड ३६ लाख ९२ हजार रुपैयाँ जगेडा रहेको थियो ।
निर्जीवन बिमा कोषमा २८ करोड ४७ लाख रुपैयाँ रहेको छ । जीवन बिमा कोषको विवरण भने रिपोर्टमा उल्लेख छैन । चौथो त्रैमाससम्म यस कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ५ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ०५ पैसा रहेको छ ।