नेपाल लाइफ इन्स्योरेन्सको लगानी प्रतिफलमा लगातार गिरावट
काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपालले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको इस्युअर रेटिङ ‘डबल ए माइनस’ बाट स्तरोन्नति गरेर ‘डबल ए’ पुर्याएको छ। तर, रेटिङ एजेन्सीकै प्रेस विज्ञप्तिअनुसार कम्पनीको लगानीबाट हुने प्रतिफल र नाफामा उच्च गिरावट आएकाले बीमितले पाउने बोनसदर थप जोखिममा परेको छ।
पछिल्लो ३ वर्षयता नेपाल लाइफको लगानीको प्रतिफल क्रमशः घट्दै गएको छ। आर्थिक वर्ष २०८०/८१ (२०२४) मा १०.१ प्रतिशत र आर्थिक वर्ष २०८१/८२ (२०२५) मा ९.४ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८२/८३ (२०२६) मा घटेर ८.१ प्रतिशतमा झरेको छ।
कुल २ खर्ब ८० अर्ब ६० करोड रुपैयाँको लगानीमा १ प्रतिशत प्रतिफल घट्दा मात्रै वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी गुमाउनुपर्छ। जसले सिधै बीमितको बोनस र शेयरधनीको कोष घटाउँछ।
आर्थिक वर्ष २०८२/८३ को प्रारम्भिक नाफा ४६ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष सोही अवधिमा ६० करोड ३० लाख रुपैयाँ र अन्तिम लेखापरीक्षण नाफा २ अर्ब २९ करोड ४० लाख रुपैयाँ थियो। स्वपूँजीमा लगानी पनि ४.९ प्रतिशतबाट घटेर ३.७ प्रतिशतमा झरेको छ।
आर्थिक वर्ष २०८१/८२ को नाफामध्ये ८७ प्रतिशत १ अर्ब ९९ करोड २० रुपैयाँ जीवन बीमा कोषको बचतबाट ल्याइएको थियो। लगानी प्रतिफल घट्दा यस्तो बचत र बोनश दिने क्षमता दुवै घट्छ।
कम्पनीको सञ्चालक समिति र उच्च व्यवस्थापनले लगानी विविधीकरणका लागि समयमै दूरदर्शिता प्रदर्शन गर्न नसक्दा नेपाल लाइफसँग लगानी विविधीकरणको अभाव छ।
यसका साथै अझै पनि मुद्दति निक्षेपमा यसको अत्यधिक निर्भरता रहेको छ। कम्पनीको कुल लगानीको ९३ प्रतिशत हिस्सा निश्चित ब्याज पाइने क्षेत्रमा छ। जसमध्ये ७१ प्रतिशत मुद्दति निक्षेप मुख्यत वाणिज्य बैंकमा छ।
अर्को चिन्ताको विषय के छ भने नेपाल लाइफसँग भएको मुद्दति निक्षेपको २२.५ प्रतिशत हिस्सा आगामी ३ वर्षभित्र परिपक्व हुँदैछ। जसलाई हालको एकल अंकको तल्लो ब्याजदरमा नवीकरण गर्नुपर्ने अवस्था भए ब्याज आम्दानी अझ घट्नेछ।
वाणिज्य बैंकहरुले पहिलेदेखि नै निक्षेपमा अत्यधिक रकम जम्मा भएको भन्दै नयाँ निक्षेप लिने वा पुराना मुद्दति निक्षेप नवीकरण गर्ने दुवै काम बन्द गरेका छन् । यसले नेपाल लाइफका लागि चुनौती बढाउनेछ।
इन्स्योरेन्स कम्पनीले कुल लगानीको १६ प्रतिशत सरकारी ऋणपत्र र ६ प्रतिशत ऋणपत्र तथा अग्राधिकार प्राप्त शेयरमा लगानी बढाए पनि बजारमा ब्याजदर घटिरहेकाले यसले आम्दानीमा आंशिक सहयोग मात्र गर्नेछ।
विगत ३ वर्षमा कम्पनीको सम्पत्ति वार्षिक १७ प्रतिशतले बढेकाले यसरी बढ्दै गएको लगानीयोग्य ठूलो रकमलाई उपयुक्त प्रतिफल पाउने क्षेत्रमा लगानी गर्न कठिन भएको छ।
सन् २०२२ मा ६५ करोड ८० लाख रुपैयाँ रहेको एकल बीमाशुल्क २०२६ मा ९ गुणाले बढेर ६ अर्ब ८ करोड ३० लाख रुपैयाँ पुगेको छ।
यो एकमुष्ठ रकमलाई आजको घट्दो ब्याजदरमै लगानी गर्नुपर्ने बाध्यता छ। बैंकमा परिपक्व भएको मुद्दति निक्षेपका बचतकर्तालाई बैंकले भन्दा अधिक प्रतिफल दिने भनेर एकल बीमाशुल्कका रुपमा ती रकम भित्र्याए पनि प्रतिफल दर न्यून भएका कारण बीमित झुक्यानमा परिरहेका छन्।
नेपाल लाइफको व्यवसाय बचत प्रकृतिका बीमालेखमा आधारित छ। जहाँ बीमितको प्रतिफल भनेकै बोनसदर हो। इक्रा प्रतिवेदनका अनुसार कमजोर प्रतिफल भएका वर्षहरुमा बोनसदर घट्न सक्नेछ।
भविष्यमा बोनसदरमा आउन सक्ने ठूलो गिरावट रोक्न कम्पनीले हालको बोनसदरको ४५ प्रतिशतभन्दा बढी रकम भविष्यको ऐच्छिक बोनस प्रावधानका रुपमा छुट्याएको छ। यसले बोनस घट्न सक्ने तर घट्ने दरलाई सीमित गर्ने संकेत गर्छ।
इन्स्योरेन्स कम्पनीको सोल्भेन्सी अनुपात पनि पछिल्लो ३ वर्षयता क्रमशः कमजोर बन्दै गएको छ। आर्थिक वर्ष २०८१/८२ मा सोल्भेन्सी अनुपात १५४ प्रतिशत रह्यो। आर्थिक वर्ष २०७९/८० मा ३२२ प्रतिशत रहेको सोल्भेन्सी २०८०/८१ मा १४५ प्रतिशतमा झरेकाले यसमा ठूलो उतारचढाव आउने सम्भावना रहन्छ।
बीमालेख नवीकरण दर सुधार भई ७५ प्रतिशत पुगेको छ। भर्खरैको बाढीको दाबीलाई अनुगमनमा राखिएको छ। जसलाई १ अर्ब ५४ करोड ४० लाख रुपैयाँको विपद् कोष र पुनर्बीमा व्यवस्थाले धान्ने अनुमान छ।
रेटिङले नेपाल लाइफको २ वर्षमा लगातार घटेको प्रतिफल र घट्दो नाफाका कारण बीमितलाई दिँदै आएको बोनसदर कायम राख्न सक्ने क्षमता कमजोर हुँदै गएको प्रस्ट संकेत गरेको छ।























