प्रिमियर इन्स्योरेन्सको नाफा बढ्यो
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासम्म आइपुग्दा प्रिमियर इन्स्योरेन्सले ३५ करोड ३८ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ४४.०७% ले बढी हो । अघिल्लो वर्ष यस कम्पनीले २४ करोड ५६ लाख २३ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको बिमा कोषको आकार ३८.२४% ले बढेर ६७ करोड २४ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष यसको बिमा कोषमा ४८ करोड ६४ लाख ४२ हजार रुपैयाँ थियो । यता, कम्पनीको खुद बिमा शुल्क भने घटेको छ । यसअवधिमा खुद बिमा शुल्क १३.९०% ले घटेर ६९ करोड ५६ लाख ९३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यस कम्पनीले ८० करोड ८० लाख ५२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
असार मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा भने ३२ करोड ४७ लाख ८२ हजार रुपैयाँ छ । यसअवधिमा कम्पनीले कुल ८९ करोड १० लाख ९८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
दाबी भुक्तानी हुन बाँकी रकम २ अर्ब ३१ करोड २२ लाख १३ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी वार्षिक ३२ रुपैयाँ ९३ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ६८ पैसा छ ।























