फोटो झुण्डयाउन मात्र म महासंघमा आएको होइनः शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले राजनीति गर्न र फोटो झुण्डयाउन मात्र महासंघको नेतृत्वमा नआएको बताएका छन् ।
महासंघको चुनावका लागि किशोर प्रधान समूहको उम्मेदवारी घोषणा समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले आफु राजनीति गर्न र फोटो झुण्ड्याउन नभई काम गर्न महासंघको नेतृत्वमा आएको बताएका हुन् ।
गोल्छाले महासंघ आफ्नो पुर्खा, पूर्व अध्यक्षहरु र सबै पदाधिकारीहरुको रगत पसिनाबाट बनेकाले त्यसलाई अझ बलियो बनाउन आफुले काम गर्ने प्रस्ट पारे ।
गोल्छाले भने ‘मेरो नीति स्पस्ट छ । यसको लागि मलाई टिम चाहिन्छ । साथीहरुलाई विनम्र अनुरोध गर्छु मैले राजनीति गर्नको लागि, फोटो झुण्ड्याउनको लागि यहाँ आएको होइन ।
म केही काम गर्नको लागि आएको छु । यो संगठन जसमा मेरो बाउबाजेको रगत पसिना छ, पूर्व अध्यक्षहरुको रगत पसिना छ, मेरो दाईहरुको रगत पसिना छ र सबै पदाधिकारीहरुको रगत पसिना छ । यो संगठनलाई म अझ बलियो बनाउनको लागि आएको हो । फोटो झुण्ड्याउनका लागि आएको होइन है साथीहरु ।’
अहिले पनि केही व्यक्तिहरुले ६ महिनामा अविश्वासको प्रस्ताव ल्याएर हटाउने चेनावनी दिइरहेकोले महासंघ भित्र भइरहेको गतिविधिमा सचेत हुनुपर्ने अवस्था आएको गोल्छाले बताए ।
उनले राम्रो काम गर्नका लागि बलियो टिम आवस्यक रहेकोले सबै मिलेर मात्रै महासंघलाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले कोभिड १९ ले असर पारेको अर्थतन्त्रलाई माथि उकास्न आफ्नो टिमलाई चुनौति रहेको समेत बताए ।
गोल्छाले भने ‘यस्तो समयमा म अध्यक्ष बन्दैछु । हाम्रो अर्थतन्त्रमा सायद यो भन्दा ठूलो गम्भिर घडी पहिला कहिले पनि थिएन । हाम्रो अर्थतन्त्र यति कमजोर कहिले पनि थिएन ।
म अव देशको वाणिज्य महासंघ जुन नेपालको निजी क्षेत्रको छाता संगठन हो र नेपालको निजी क्षेत्रको एकमात्र आस्थाको केन्द्र हो र मैले के गर्ने भनेर मेरो बाटो खुलस्त छ । मैले उद्योग वाणिज्य महासंघमा सबैभन्दा पहिला यो अर्थतन्त्रमा कोभिड १९ ले पारेको असर छ त्यो असरलाई निर्मुल गरेर अर्थतन्त्रलाई फेरी चलायमान गर्नुपर्ने मेरो बाटो प्रष्ट रुपमा मैले देखेको छु ।’
महासंघको नेतृत्वमा गएपछि के काम गर्ने भन्ने विषयमा आफुले गृहकार्य गरिरहेको र छिट्टै रोडम्याप बनाई सार्वजनिक गर्ने बताए । उनले नयाँ मार्गदर्शन तयार गरेर सबैलाई साथ लिएर अगाडि बढ्ने प्रतिवद्धता समेत जनाए ।
महासंघ भित्र काम गर्न गाह्रो भएको र आफु अध्यक्षको रुपमा निजी क्षेत्रको बाटो तय गर्नुपर्ने भएकाले बलियो टिमको आवश्यकता रहेको बताए ।
उनले आफुलाई अहिले सम्म सहयोग गर्ने र असहयोग गर्ने सबैलाई धन्यवाद दिदै अझैपनि केही व्यक्तिहरुका कारण महासंघमा बसेर काम गर्न चुनौति रहेको बताए ।