निजी क्षेत्रको मनोबल उकास्न महासंघका तीन सुझाव
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंंघले व्यावसायिक वातावरण सुधारका लागि तीन सुझाव अघि सारेको छ ।
बुधबार ललितपुरमा आयोजित कार्यक्रममार्फत महासंघले व्यावसायिक वातावरण सुधारका लागि खाका अघि सारेको हो । महासंघले लगानीकर्ताको मनोबले करिब चार दशक यताकै न्यून बिन्दुमा रहेको भन्दै यसमा सुधार आवश्यक रहेको बताएको छ ।
यसका लागि कानुनी तथा प्रशासनिक झन्झटको अन्त्य गर्नुपर्ने माग महासंघले गरेको छ ।यस्तै, श्रम, कर प्रशासन, उद्योग तथा जग्गा सम्बन्धी कानुन र वातावरणीय स्वीकृत जस्ता प्रक्रियालाई व्यवस्थित गर्न महासंंघले सरकारको ध्यानाकर्षण गराएको छ ।
व्यापारमा सहजीकरण कागजमा नभएर व्यवहारमै हुनुपर्ने महासंघको भनाइछ । एकीकृत डिजिटल व्यापार प्रणाली, आधुनिक भन्सार पूर्वाधार र निर्बाध सीमापार ढुवानीको प्रत्याभूति हुनुपर्ने महासंघले जनाएको छ ।
भन्सार जाँचपास, ढुवानी लागत र लगानी स्वीकृतिका अवरोधहरू हटाई निश्चित लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्र सम्मिलित एक अधिकारसम्पन्न ‘स्थायी व्यापार सहजीकरण परिषद्’ गठन गर्न महासंघले प्रस्ताव गरेको छ।
महासंघले राज्य र निजी क्षेत्रबीच विश्वास र सहकार्यको वातावरण सिर्जना गर्न पनि भनेको छ । गैरकानुनी कार्यमा संलग्न जोकोहीमाथि कारबाही हुनुपर्नेमा दृढ रहँदै महासंघले अनुसन्धान प्रक्रिया निष्पक्ष, प्रमाणमा आधारित र व्यावसायिक हुनुपर्नेमा जोड दिएको छ।
पक्राउ र थुनालाई नै अनुसन्धानको प्राथमिक विकल्प बनाउँदा लगानीकर्तामा भय सिर्जना हुने महासंघको भनाइ छ । व्यावसायिक जोखिम वा प्रक्रियागत त्रुटिलाई आपराधिक कृत्यबाट छुट्याएर व्यवहार गर्न महासंघले भनेको छ ।
बैंकमा करिब १२ खर्ब ६६ अर्ब रुपैयाँ अधिक तरलता रहेको र वार्षिक २३ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिरहेको अवस्थामा व्यावसायिक सुधारका कदमहरू लागू भए लगानी आकर्षित हुने महासंघको भनाइ छ ।






















