अब बैंक मार्फत कर तिर्दा आय विवरण पनि बुझाउन सकिने
काठमाडौं । साउन १ गते बिहीबारदेखि बैंक मार्फत कर तिर्दा आय विवरण समेत पेश गर्न मिल्ने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ ।
साउन १ गतेदेखि मोवाइल एप्स तथा विद्युतीय माध्यमबाट कर बुझाउन सकिनेछ । यसरी बैंकबाट कर बुझाउँदा साना करदाताले आय विवरण समेत बुझाउने सक्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निर्देशन दिएको हो ।
राष्ट्र बैंकले भनेको छ, ‘आय विवरण तथा कर दाखिला फारम (डे १ आय विवरण फारम) भराइ सोही बमोजिम गराउन जानकारी गराउनुपर्नेछ ।’ नयाँ व्यवस्थाबाट अब साना करदाताले मोवाइल एप्स तथा विद्युतीय माध्यमबाट कर तथा आय विवरण बुझाउन पाउने भएका छन् ।
आर्थिक वर्ष २०७७/०७८ को बुँदा नम्बर ३३३ मा साना करदाताले (वार्षिक २० लाखसम्मको कारोबार गर्ने) आय विवरण र कर मोबाइल एप्स मार्फत तथा अन्य विद्युतीय माध्यम मार्फत बुझाउन सकिने र बैंक मार्फत कर भुक्तानी गर्दा आय विवरण समेत बुझाउने गरी व्यवस्था मिलाइने भनिएको थियो । सोही नीति कार्यान्वयन गर्न राष्ट्र बैंकले बाणिज्य बैंकलाई भनेको हो ।





























