sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

१७ औँ नेपाल–चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । १७ औँ नेपाल–चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला हुने भएको छ । व्यापार प्रवर्धन तथा निकासी केन्द्रको आयोजनामा आगामी सोमबारदेखि राजधानीको भृकृटीमण्डपमा सो आर्थिक तथा व्यापार मेला हुन लागेको हो ।

नेपाल सरकार र चीनको स्वशासित क्षेत्र तिब्बतको वाणिज्य विभागबिच सन् १९९० मा दुर्ई देशबिच भएका सम्झौता अनुसार नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतमा दुई वर्षमा आलोपालो हुने गरी आर्थिक तथा व्यापार मेला आयोजना गर्ने सम्झौता अनुरूप यस पटक नेपालमा मेला आयोजना गर्न लागिएको केन्द्रले जनाएको छ ।

केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले नेपाल–चीनबिच दुई पक्षीय आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ सो मेला आयोजना हुन लागेको जानकारी दिनुभयो ।

तिब्बततर्फ उच्च निकासी सम्भावनाका वस्तुको प्रदर्शनी गरिने उहाँले जानकारी दिनुभयो । मेलाले दुई देशबिचको व्यापार प्रवर्धन गर्ने गरी तिब्बतमा स्वदेशी वस्तुको निर्यात बढाउन मद्दत पुग्ने उहाँको भनाइ छ ।

पाँच दिनसम्म सञ्चालन हुने मेलामा चीनको स्वशासित क्षेत्रका तर्फबाट ५० वटा स्टल राखिने छ । यस्तै नेपालतर्फबाट १५ वटा स्टल राखिने छ ।

मेलामा चीनको स्वशासित क्षेत्र तिब्बतका स्टलमा परम्परागत जडीबुटी, कृषिजन्य उत्पादन, आधुनिक कृषि औजार, चिया, विद्युतीय उपकरण, घरायसी प्रयोगका साधन, कर्पोट, पेय पदार्थ, परम्परागत हस्तकलाका सामान, परम्परागत धूप, विद्युतीय सवारीसाधन, सौन्दर्य प्रशासनका अतिरिक्त विभिन्न व्यापारिक कम्पनीको सहभागिता रहने कम्पनीले जनाएको छ ।

यस्तै नेपाली स्टलमा जडीबुटी, सारयुक्त सुगन्धित तेल, कफी, चिया, हस्तकला, काष्ठकला, धातुकला, कर्पोट, पस्मिनालगायतका विभिन्न कम्पनीका उत्पादन प्रदर्शनीमा राखिने छ ।

मेलाका अवसरमा दुई पक्षबिच बिटुबी र जिटुजी लगायतका व्यावसायिक मिटिङसमेत हुने छ । वैशाख २१  गतेसम्म सञ्चालन  हुने प्रदर्शनीको अवलोकन गर्न निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको नौ महिना (साउन–चैत) सम्म चीनबाट दुई खर्ब १६ अर्ब ७६ करोड ९५ लाख १९ हजार रुपियाँ बराबरको आयात हुँदा नेपालबाट दुई अर्ब ११ करोड ४४ लाख ६६ हजार निर्यात भएको छ ।

चीनबाट आयात धेरै भए पनि निर्यात न्यून हुँदा व्यापार घाटा नौ महिनामा दुई खर्ब १४ अर्ब ६५ करोड ५० लाख ५३ हजार रुपियाँ पुगेको छ ।

gold
nawakantipur long