सहमति जुटाउँदै नेकपा अध्यक्षद्धयबीचको वार्ता सम्पन्न, बिहीबार पुनः छलफल हुने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्कर्षमा पुगेको आन्तरिक विवाद समाधान गर्नका लागि भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सकिएको छ ।
सहमतिको प्रयासका लागि भन्दै ६ दिनपछि आज मंगलबार अध्यक्षद्वय ओली र दाहालबीच करिब सवा घण्टा वार्ता भएको हो ।
छलफलको श्रृंखलालाई कायम राख्दै दुई अध्यक्षबीच विहीबार पुनः छलफल हुने भएको छ । यस अगाडि आइतबार, सोमबार र मंगलबार ओली र दाहालबीच भेटवार्ता भएको थियो । तर, निकास ननिस्किएपछि नेकपाको स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ ।
पछिल्लो पटक साउन २ गतेसम्मका लागि बैठक स्थगित भएको छ । बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागे गरेपछि नेकपाको शक्ति संघर्ष उत्कर्षमा पुगेको हो ।
उक्त विवादले पार्टी फुटको नजिक पुग्न लागेपछि सहमतिको प्रयासका लागि भन्दै दुई अध्यक्षबीच छलफल हुँदै आएको छ । पछिल्लो पटक दुवै अध्यक्षले हतार नगरी सहमति जुटाउने सार्वजनिक अभिव्यक्ति दिदै आएका छन् ।


























