‘ऋणमा भएको लगानी जनताको बचत हो, तिर्नै पर्छ’
म्याग्दी। जनताको रगत पसिनाले जोडेको रकम नै बैङ्क तथा वित्तीय संस्थाले ऋणका रूपमा लगानी गर्ने भएकाले खाएको ऋण तिर्नैपर्ने नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभएको छ ।
म्याग्दी उद्योग वाणिज्य सङ्घको ३० औँ वार्षिक साधारण सभा तथा १२ औँ अधिवेशनमा बोल्दै उहाँले जनताले थोरै थोरै गरेर जम्मा गरेको बचत रकम नै बैङ्क तथा वित्तीय संस्थाले ऋणका रूपमा परिचालन गर्ने भएकाले कसैले तिर्दिनँ भनेर उम्कन नपाइने धारणा राख्नुभयो ।
“कसैको उक्साहटमा ऋण मिनाहा हुने होइन, ऋण लिएपछि तिर्नै पर्छ तर समयसापेक्ष ब्याजदर केही हेरफेरका लागि प्रयास गरिनु स्वाभाविक मान्न सकिएला, नतिर्ने भन्ने हुँदैन,” ढकालले भन्नुभयो ।
अहिले बैङ्कको ब्याजदर एक अङ्कमा आइसकेकाले हरेक दिन निराशाको हिसाबले हिँड्नेभन्दा पनि सम्भावनाको खोजीमा लाग्नु नै उचित हुने धारणा व्यक्त गर्नुभयो ।
म्याग्दी उद्योग वाणिज्य सङ्घको साधारण सभामा नेपाल उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष प्रमोद श्रेष्ठले कालीगण्डकी कोरिडोर निर्माण भई सञ्चालनमा रहेकामा हाल स्तरोन्नतिको काम भइरहेकाले त्यसलाई जतिसक्यो चाँडो सकेको खण्डमा धेरै फाइदा लिन सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सडकको स्तर राम्रो भए पर्यटकको सङ्ख्या बढ्छ र त्यसको उपयोग हामीले नै गर्न पाउँछौँ, त्यसैले यसलाई जतिसक्यो चाँडो सक्नै पर्छ ।”
संविधान सभा सदस्य नवराज शर्माले विद्युत्को निरन्तरताको ग्यारेन्टी गरी विद्युत् प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
उहाँले विद्युत् काटिने समस्या हल भएको खण्डमा विद्युत्को प्रयोग जनताले धेरै गर्ने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गर्नुभएको थियो ।