बचतकर्ताको रकम हिनामिनाः अम्बे सहकारीका अध्यक्ष सहित पाँच जना पक्राउ
काठमाडौं । बचतकर्ताहरुको रकम हिनामिना गरेको आरोपमा इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फणीन्द्र मगरसहित पाँच जना सञ्चालक पक्राउ परेका छन् ।
सहकारीले बचतकर्ताको ४० करोडभन्दा बढि रकम हिनामिना गरेको आरोपमा अध्यक्ष मगरसहित सञ्चालकहरु कुमार आलो, शिला गजमेर, राहुल अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सहकारीका अध्यक्ष र सञ्चालकविरुद्ध बचतकर्ताहरुले जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी दिएका थिए । बचतकर्ताको उजुरीपछि जिप्रकामा बचतकर्ता र सहकारीका सञ्चालकबीच पटक–पटक छलफल भएको थियो ।
छलफलमा सञ्चालकहरुले बचत फिर्ता दिने सहमति जनाएपनि बचतकर्ताको रकम फिर्ता नभएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेको एक जना सञ्चालकको नाम प्रहरीले गोप्य राखेको छ ।