एभरेष्ट बैंकको नाफामा करिब १० प्रतिशतको गिरावट आए पनि वितरणयोग्य मुनाफा भने ४० प्रतिशत माथि
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ७८ करोड ७ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा ९.४५ प्रतिशतले कम हो । गत वर्ष यसले ८६ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले ४२ करोड ९५ लाख रुपैयाँ इन्पेयरमेन्ट चार्ज बापत छुट्याएको छ । गत वर्ष उक्त शीर्षकमा १२ करोड २७ लाख रुपैयाँ छुट्याएको थियो ।
यस वर्ष इम्पेयरमेन्ट चार्ज बढ्दा नाफामा असर परेको हो । असोजसम्म यसको एनपीएल ०.३३ प्रतिशतबाट बढेर ०.९० प्रतिशत पुगेको छ ।खुद ब्याज आम्दानी भने ०.३२ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिसम्म यस बैंकले १ अर्ब ८९ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष खुद ब्याज आम्दानी १ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ आर्जन गरेको थियो । यता, सञ्चालन नाफा भने ९.४५ प्रतिशतले घटेर १ अर्ब ११ करोड ५४ लाख कायम भएको छ ।
गत वर्ष उक्त नाफा १ अर्ब २३ करोड १८ लाख रुपैयाँ थियो । हाल एभरेष्टको चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा १० अर्ब ४६ करोड ८२ लाख रुपैयाँ जम्मा रहेको छ ।
यसको प्रतिसेयर आम्दानी (वार्षिकीरण) २९ रुपैयाँ १९ पैसा छ । त्यसैगरी, प्रतिसेयर नेटवर्थ ४ रुपैयाँ ९८ पैसाले घटेर २४२ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
यसको वितरणयोग्य नाफा ४ अर्ब ५२ करोड १० लाख रुपैयाँ रहेको छ । सो रकमबाट यसले ४२.२६ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ ।


























