बजाज ब्रान्डका बाइक एसेम्बल गर्ने हुलास अटो क्राफ्टको व्यापार १० अर्ब ७४ करोडबाट घटेर ५ अर्ब ६१ करोडमा झर्यो

काठमाडौं । हुलास अटो क्राफ्ट प्रालिले सन् २०२३ मा ५ अर्ब ६१ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो सन् २०२२ को भन्दा ४७।७५ प्रतिशत कम हो ।
सन् २०२२ मा कम्पनीले १० अर्ब ७४ करोड ६० लाख र सन् २०२१ मा १२ अर्ब ७१ करोड १० लाख रुपैयाँ व्यापार गरेको रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले जनाएको छ ।
यस कम्पनीले चालु आर्थिक वर्षको ८ महिनासम्म भने ३ अर्ब २३ करोड रुपैयाँको व्यापार गरेको छ । सन् २०२३ को सुरुदेखि २ प्राङ्गे सवारी साधानको मागमा तीब्र गिरावट आएको छ । जसकारण व्यापार घटेको हो । यता, पल्सर मोडेलबाट भने ८० प्रतिशत व्यापार बढेको छ ।
यसबाहेक होन्डा र यामाहा जस्ता अन्य स्थापित ब्रान्डहरुका साथै टीभीएस जस्ता बढ्दो ब्रान्डहरुसँग कडा प्रतिस्पर्धाको सामना गर्नु परेको जनाइएको छ ।
सबै प्रमुख ब्रान्डहरुद्वारा एसेम्बल सुरु भएपछि हुलासको मार्जिनले प्रतिस्पर्धात्मक दबाब देख्न सक्ने रेटिङ एजेन्सिले जनाएको छ । यता, कम्पनीले २ अर्ब ४८ करोड ९० लाख रुपैयाँ बैंक कर्जाका रेटिङ गराएको छ ।
जसमध्ये, लङ ट्रम ५७ करोड ५० लाखका लागि ‘इक्राएनपी एबीबी प्लस’ र सर्ट ट्रम १ अर्ब ९१ करोड ४० लाखका लागि ‘इक्राएनपी ए४ प्लस’ रेटिङ प्राप्त गरेको छ ।
सन् २०१३ मा स्थापित हुलास अटो क्राफ्ट प्राइभेट लिमिटेड बजाज ब्रान्डका २ पाङ्ग्रे र ३ पाङ्ग्रे सवारी साधनहरुको आधिकारिक एसेम्बलिङ इकाई हो । यो कम्पनी गोल्छा अर्गनाइजेसनको एक अंग हो ।