stcnepal long ad
global ime bank long

लोक सेवा आयोगलाई नयाँ चुनौतीसँग सामना गर्ने गरी सुधार गर्नु आवश्यक छ : राष्ट्रपति

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोक सेवा आयोगलाई नयाँ युगका नयाँ चुनौतीलाई सामना गर्न सक्ने गरी सुधार एवं विकास गर्दै अगाडि बढ्नु आवश्यक भएको बताएकी छन् ।

आयोगको ७२औँ वार्षिकोत्सव समारोहलाई आज राजधानीमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विज्ञान र प्रविधिमा भएको विकास तथा चुलिँदो जनअपेक्षालाई सम्बोधन गर्न आयोगको सेवालाई अनलाइन मार्फत उपलब्ध गराउने प्राविधिक संरचनाको स्तरोन्नति गर्दै अनलाइन सेवालाई नागरिक एपसँग जोड्ने कार्यको प्रशंसा गरिन् ।

 

 

राष्ट्रपति भण्डारीले यसबाट आम नागरिकलाई आयोगका सेवाहरू प्राप्त गर्न सरल र सहज हुने अपेक्षा लिएको बताइन् ।

ठुलो राजनीतिक परिवर्तनपश्चात् मुलुक क्रमशः आर्थिक रूपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर भइरहेको सन्दर्भ जोड्दै राष्ट्रपति भण्डारीले जनतालाई सहज सार्वजनिक सेवा प्रवाह गरी राज्यको उपस्थितिको बोध गराउने दायित्व मुलुकको निजामतीसहितका सरकारी संयन्त्रको रहेको र सोही अनुरूपको जनशक्ति छनोट गर्नु अत्यावश्यक भएको बताइन् ।

उनले जनताको समृद्धिको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र सोही अनुरुप कर्तव्यपालन गर्न सक्ने मानव स्रोतको पहिचान गरी सरकारी सेवालाई बलियो बनाउने अधिकार प्राप्त संवैधानिक अङ्गका रूपमा रहेको लोक सेवा आयोगले त्यसलाई आत्मसात् गर्दै आफ्नो दायित्व पूरा गर्न कटिबद्ध हुने विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले चुस्त व्यवस्थापकीय क्षमतायुक्त, इमान्दार, कर्तव्यनिष्ठ र विषयगत दक्षतासहितका जनशक्ति विकासका लागि आवश्यक तालिम तथा अभिमुखीकरण र उम्मेदवारको छनोट प्रणालीमा समयसापेक्ष सुधार गर्नेतर्फ आयोगको थप ध्यान जाने अपेक्षा लिएको बताइन् ।

देशको सबैभन्दा लामो इतिहास भएको संवैधानिक आयोगका रूपमा रहेको लोकसेवा आयोगलाई नेपालको संविधानले निजामती सेवाका लागि उपयुक्त उम्मेदवार छनोट गर्ने तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल एवम् अन्य सरकारी सेवामा पदपूर्तिका लागि लिइने परीक्षा सञ्चालन गर्ने जिम्मेवारी प्रदान गरेको छ ।

यसका साथै लोक सेवा आयोगले सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाका कर्मचारी व्यवस्थापनका विभिन्न विषयमा परामर्शसमेत प्रदान गर्दै आएको छ ।

राष्ट्रपति भण्डारीले मुलुकको आयोगले योग्यता, निष्पक्षता, स्वच्छता, समान अवसर, समावेशिता तथा गोपनीयता लगायतका मुख्य सिद्धान्तमा आधारित भई कार्यसम्पादन गर्दै आएको र त्यसले नागरिकस्तरमा उदाहरण स्थापित गर्न सफल भएको बताइन् ।

समारोहमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले कर्मचारी छनोटका लागि लिइने परीक्षाको उत्तर पुस्तिका परीक्षण विधि र प्रविधिमा निरन्तर सुधार गर्दै आएको जानकारी दिए ।

उनले उत्तर पुस्तिका परीक्षण प्रणालीलाई थप विश्वसनीय बनाउन सहसचिव, उपसचिव वा सो सरहका पदहरुमा दुईजना विज्ञबाट अलग अलग रुपमा दोहोरो परीक्षण गर्ने शाखा अधिकृत वा सो सरहको पदका उत्तर पुस्तिका तथा सङ्गठित संस्थातर्फका नवौँ वा सोभन्दा माथिका पदका परीक्षाका उत्तर पुस्तिका आयोगमा नै विज्ञद्वारा परीक्षण गराउने पद्धतिको विकास गरिएको जानकारी दिए ।

आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईँले स्वागत मन्तव्य राखेको समारोहमा सदस्य माधव वेल्बासेले धन्यवाद ज्ञापन गरेका थिए ।

सो क्रममा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको थियो भने लामो समयसम्म आयोगमा सेवा गरेका आयोगका पूर्व सदस्य गौरीलाल दासलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

आयोग विसं २००८ असार १ गते गठन भएको थियो । नेपालको सबैभन्दा जेठो संवैधानिक निकाय उक्त आयोगले सोही साल भदौ १८ गते पहिलो पटक छ पदका लागि विज्ञापन गरेर कार्यारम्भ गरेको थियो ।

IME Lifesidebar
kumari