सनराइज क्यापिटलका दुवै फन्डको न्याभ घट्यो
काठमाडौं । सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुई वटै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । सनराइज फर्स्ट म्युचुअल फन्डको न्याभ ३० पैसाले घटेर फागुन मसान्तमा १४ रुपैयाँ ३५ पैसामा आएको छ । माघ महिनामा भने यस फन्डको न्याभ १४ रुपैयाँ ६५ पैसा थियो । सूचीकृत कम्पनीको सेयरमा लगानी भने ५९ करोड ६ लाख रुपैयाँबाट बढेर ६२ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा फन्डले ५५ वटा सूचीकृत कम्पनीको २८ लाख ४४ हजार कित्ता बढी सेयरमा लगानी गरेको छ । यता, फन्डको बैंक मौज्दात भने २३ करोड ३९ लाख रुपैयाँबाट घटेर फागुन मसान्तमा १८ करोड ४१ लाख रुपैयाँ रहेको छ । मुद्दति निक्षेपमा पनि १८ करोड रुपैयाँ जम्मा रहेको छ । फागुन मसान्तसम्म यो फन्डले कुल ५ करोड ६१ लाख ७ हजार रुपैयाँ आम्दानी गरेको छ ।
यता, सनराइज ब्लूचिप फन्डको न्याभ पनि २३ पैसाले घटेर फागुन मसान्तमा ९ रुपैयाँ ९३ पैसामा आएको छ । माघ महिनामा भने यस फन्डको न्याभ १० रुपैयाँ १६ पैसा थियो । यस फन्डको पनि सूचीकृत सेयरमा लगानी बढेको छ । सेयर लगानी ५९ करोड ७८ लाख रुपैयाँबाट बढेर ६० करोड ८० लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा फन्डले ४१ वटा सूचीकृत कम्पनीको १२ लाख ६ हजार कित्ता बढी सेयरमा लगानी गरेको छ । फन्डको बैंक मौज्दात भने ३० करोड ६ लाख रुपैयाँबाट घटेर फागुन मसान्तमा २६ करोड ५० लाख रुपैयाँमा आएको छ । ब्लूचिप फन्डले पनि मुद्दति निक्षेपमा १८ करोड रुपैयाँ जम्मा गरेको छ । फागुन मसान्तसम्म यो फन्ड कुल १ करोड ६४ लाख ४७ हजार रुपैयाँ नोक्सानमा रहेको छ ।























