नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । आज चैत ६ गते आइतबार नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते एक दिन बुक क्लोज गर्दैछ ।
तसर्थ, आजसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् । आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश गरि कुल १४।७३ प्रतिशत लाभांश वितरण गर्दैछ ।
लाभांश अनुमोदन गर्न चैत २१ गते साधारण सभा बोलाएको छ । सभा होटल भिष्वा, वीरगंज पर्सामा बिहान ९ बजेदेखि सुरु हुनेछ । त्यस्तै, सभामा कम्पनीको हाल कायम पुँजी संरचनामा पनि परिवर्तनको प्रस्ताव पेश गर्ने भएको छ । संस्थापक र सर्वसाधारण सेयरको ६०ः४० अनुपातलाई अब ५१ः४९ कायम गरिनेछ ।
यसका लागि प्रबन्धपत्र तथा नियमावलीमा संशोधन प्रस्ताव पारित गर्ने प्रस्ताव छ । २०७६–७७ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । सभाले २०७७–७८ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्नेछ ।
























