एनएमबि लघुवित्तले ग्राहक पहिचान कार्य स्वचालित गर्ने, अनलाइनबाटै खाता खोल्न मिल्ने
पोखरा। एनएमबि लघुवित्त बित्तीय संस्था लिमिटेडले आफ्नो ग्राहक पहिचानसम्बन्धी सम्पूर्ण कार्यलाई स्वचालित गर्ने भएको छ।
यो कार्यका लागि संस्थाले डिजिटल एज नेपालसँग सम्झौता गरेको छ। सम्झौतापत्रमा एनएमबि लघुवित्तका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे र डिजिटल एज नेपालका प्रबन्ध निर्देशक दिब्येश्वरी दलीले हस्ताक्षर गरेका छन्।
एनएमबि बैंकको सहायक कम्पनीका रुपमा रहेको एनएमबि लघुवित्त नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो।
संस्थाले देशका सातवटै प्रदेश अन्तर्गत ६८ जिल्लाका विभिन्न स्थानमा १४८ वटा शाखा तथा उपशाखा कार्यालय सञ्चालन गरी करिब १ लाख १९ हजार विपन्न घरपरिवारका सदस्यलाई लघुवित्त सेवा प्रदान गदै आएको छ।
यसैगरी सूचना प्रविधिको क्षेत्रमा काम गर्ने एक अग्रिणी संस्थाका रुपमा रहेको डिजिटल एज नेपालबाट विकास गरिएको केवाईसी म्यानेजमेन्ट सिस्टम लगायतका प्रोगाम, एप्लिकेसन, सफ्टवेयरहरु नेपालका सबैजसो बैंक तथा वित्तीय संस्थामा प्रयोग भइरहेका छन्।
केवाइसी म्यानेजमेन्ट सिस्टम लागू भए पश्चात् वित्तीय संस्थामा आबद्घ ग्राहकको ब्यक्तिगत विवरण अभिलेख व्यवस्थित र विश्वसनीय हुनुका साथै ग्राहकले अनलाइनबाट खाता खोल्न सक्ने सुविधासमेत रहेको बताइएको छ।

























