अमेरिकामा कोरोना भाइरसको संक्रमण घट्दै, मृतकको संख्या पनि न्यून

– गणेश थापा
क्यालिफोर्निया । संयुक्त राज्य अमेरिकामा नोवल कोरोना भाइरसको संक्रमणमा केही कमी आएको छ । देशभर फैलिएको कोरोना महामारीबाट आक्रान्त बनिरहेको अमेरिकामा केही दिनयतादेखि भाइरसको संक्रमण निरन्तर रूपमा घट्दै गइरहेको पछिल्लो तथ्यांकले देखाएको छ ।
यसैगरी मृतकको संख्यामा समेत निकै ह्रास आइरहेको छ । अमेरिकामा कोभिड-१९ सम्बन्धी अफिसियल डाटा अपडेट गर्दै आइरहेको न्युजब्रेकका अनुसार कोरोना भाइरसको संक्रमणका कारण विश्वको सवैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा मृतकको संख्या घटेर सोमबार करीव ४ सयको हाराहारीमा झरेको छ भने गएको २४ घण्टाको अवधिमा ३३ हजार ७ सय ६४ व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
विगतका दिनहरूमा अमेरिकामा कोरोना संक्रमितको संख्या दैनिक ७७ हजारसम्म पुगेकोमा हाल त्यो संख्या आधाआधीमा झरेको छ ।
त्यस्तैगरी अघिल्ला महिनामा कोरोना भाइरसबाट अमेरिकामा दैनिक रूपमा करीव सॉढे ४ हजारको हराहारीमा मानिसहरूको मृत्यु भएको थियो ।
यसैगरी केही दिनयता नयॉ संक्रमित तथा मृतकको संख्यामा कमी आउनथालेपछि अमेरिकाको जनजिवन केही सहज देखिएको छ भने व्यापार व्यावसाय तथा कार्यालयहरूले आफ्नो सेवा पुन:संचालन गर्नथालेका छन् ।
गत फागुनमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएयता हालसम्म अमेरिकामा झण्डै ६१ लाख ५० हजार मानिस संक्रमित भएका छन् ।
यस अवधिमा १ लाख ८६ हजार बढीको ज्यान गइसकेको छ । मृतकको संख्या मध्ये ५० वर्षमाथिको उमेर समूह अधिक छ भने ३० वर्षभन्दा कम उमेरका मानिसहरू नगन्य मात्रमा रहेको प्राप्त तथ्यांकले औंल्याएको छ । हालसम्म २३ लाख २५ हज़ार अमेरिकाबासीहरू कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् ।
अमेरिकामा हिजो आइतबार करीव ४८ हजार व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको थयो भने अघिल्लो दिनको संक्रमित संख्या समेत सोही सेरोफेरोमा रहेको थियो । यसैगरी आइतबार मात्रै १२ सय बढीको ज्यान गएको अमेरिकामा शनिबार १ हजार ३९ जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमहरूले उल्लेख गरेका छन् ।
अघिल्ला साताहरूमा मृत्युदर स्थिर देखिएतापनि नयॉ संक्रमितहरूको संख्या अत्याधिक मात्रामा थपिदा सर्वसाधारण नागरिक निकै त्रसित थिए । तर, पछिल्लो समय संक्रमित संख्यामा कमी आएसंगै केही राहत महसुश गर्न थालिएको छ भने बजारमा मानिसहरूको चहलपहल समेत बढेको छ ।
प्राप्त तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमण फैलिएका अमेरिकाका ५० वटै राज्यहरू मध्ये सवैभन्दा बढी मानवीय क्षति खेप्नु परिरहेको न्युयोर्कमा अहिले संक्रमित तथा मृतकको संख्या करीव करीव शून्यमा झरेको छ । यहॉ अहिलेसम्म करीव ३३ हजार मानिसको मृत्यु भएको छ भने झण्डै सॉढे ४ लाख मानिस संक्रमित भएका छन् ।
कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म अमेरिकामा १६ जना नेपालीहरूको ज्यान गइसकेको छ भने सयौंको संख्यामा संक्रमित रहेको यहॉका विभिन्न सामाजिक संघसंस्थाहरूले उल्लेख गरेका छन् ।
यता क्यालिफोर्नियामा समेत कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढेर करीव १३ हजार पुगेको छ भने झण्डै ७ लाख बढी मानिसमा संक्रमण देखिएको छ । क्यालिफोर्नियामा कोरोना संक्रमितको संख्या सवैभन्दा बढी छ ।
कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म संसारभर झण्डै सॉढे ८ लाख मानिसको मृत्यु भएको छ भने संक्रमितको संख्या समेत २ करोड ५० लाख नाघेको छ ।






















