नबिल बैंकले ७ अर्बभन्दा बढी मुनाफा कमायाे वितरणयाेग्य मुनाफा १७ रूपैया ६४ पैसा
काठमाडौं । उपेन्द्र प्रसाद पाैडेल अध्यक्ष र मनाेज कुमार ज्ञवाली प्रमुख कार्यकारी अधिकृत रहेकाे नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
विवरण अनुसार नबिल बैंकले सो अवधिसम्ममा ७ अर्ब १२ कराेड भन्दा बढी नाफा कमाउन सफल भएको छ। बैंकले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षमा ६ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको नबिल बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।
समीक्षा अवधिमा नबिल बैंकको मुनाफा १५.०१ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.०६ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ५.३८ प्रतिशत बढेको छ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३.४२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफ २५.४४ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४ अर्ब ६३ करोड रुपैयाँबाट घटेर २ अर्ब ३९ करोड रुपैयाँमा झरेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो। २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको नबिल बैंकको जगेडा कोषमा ३६ अर्ब ६८ करोड रुपैयाँ सञ्चित रहेकाे छ। २०८२ असार मसान्तसम्ममा बैंकले ५ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १२ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७७ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६४ पैसा रहेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ४४ पैसा बढेर २६ रुपैयाँ ३४ पैसा पुगेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ५८ पैसा रहेको छ। नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार ज्ञवाली नियुक्त भएपछि बैंककाे वित्तीय सुचकाङ्क सबै सबल र बलियाे भएका छन् ।
बैंकको सञ्चालक समितिको ६८२ औं बैठकले ज्ञवालीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको थियाे । बैंकिङ क्षेत्रका राेड माेडेल बैंकर्स रहेका ज्ञवालीले जुन- जुन बैंकमा रहेर काम गरेका छन,जुन विभाग सम्हालेका छन,त्यसमा सर्वाेत्कृष्ठ नतिजा दिएकै छन।
नबिल बैंकमा यस अघि कायममुकायम सिईओको भूमिकामा रहेका ज्ञवाली बैकिङ क्षेत्रमा स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । उनले नेपाल राष्ट्र बैंकलगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तहमा नेतृत्वदायी भूमिकामा रही बैंकिङ क्षेत्रको समग्र अनुभव बटुलीसकेका छन् ।
सीए रहेका ज्ञवालीसँग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकसहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २७ वर्ष लामो कार्य अनुभव रहेकाे छ ।
ज्ञवालीको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ । नबिल बैंककाे नायब महाप्रबन्धकमा आदर्श बजगाँइ कार्यरत छन। यस्तै कानुन विभाग प्रमुख र कम्पनी सचिवमा भिष्म न्यौपाने रहेका छन।
गत वर्ष भदाैमा भएकाे नबिल बैंकको विशेष साधारण सभाले पाँच अर्ब रुपैयाँबराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव पारित गरेको थियाे ।
बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पुँजीको माध्यमबाट पुँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले नबिलले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनका सर्त र व्यवस्थाबमोजिम तथा नियमनकारी निकायको स्वीकृति पश्चात् जारी हुने गरी पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गरेकाे थियाे।
नबिल बैंकले गत आर्थिक वर्षमा १० प्रतिशत नगद लाभांश दिएकाे थियाे । बैंककाे २०८१ मंसिर २७ मा सम्पन्न भएकाे ४०औँ वार्षिक साधारण सभाले शेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेकाे थियाे ।
आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे । आर्थिक मन्दिले उद्याेग व्यवसाय सुस्त भएकाे, कर्जाकाे माग र ब्याजदर घटेकाे अवस्थामा १० प्रतिशत लाभांश दिनु भनेकाे निकै ठुलाे लाभ हाे। आर्थिक वर्ष २०८०/८१ मा नबिल बैंकले ६ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा बैंकको निक्षेप दायित्वमा ६६ अर्ब १० करोड रुपैयाँ अर्थात् १६.४१ प्रतिशतले वृद्धि भई ४ खर्ब ६८ अर्ब ७९ करोड रुपैयाँ पुगेको थियाे भने कर्जा तथा सापटी ४६ अर्ब ३२ करोड अर्थात् १३.६५ प्रतिशत वृद्धि भई ३ खर्ब ८५ अर्ब ७२ करोड रुपैयाँ पुगेको थियाे । समग्रमा आर्थिक वर्ष २०८०/८१ मा बैंकको वासलातको आकार १५.७६ प्रतिशतले वृद्धि भई ५ खर्ब ५७ अर्ब ०२ करोड पुगेको थियाे ।
त्यस्तै ४० ओैं साधारण सभाले सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्ने दुई सञ्चालकमा अनन्त पौड्याल र प्रविन टिवडेवालालाई निर्विरोध निर्वाचित गरेको थियाे ।
बैंकका अध्यक्ष पौडेलले बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै आफ्नो बैैकिङ सेवालाई आधुनिकीकरण तथा विस्तार गर्दै आएको बताउदै बैंकले समुन्नत देश, समाज, शेयरधनी, ग्राहक, नियमनकारी निकाय, कर्मचारी लगायतका विभिन्न सरोकारवालाहरूको अधिकार र चासोको कदर गर्दै अत्यन्त सजग र सन्तुलित व्यवहारमा विश्वास राखेर कार्य गर्दै आएको र सामाजिक उत्तरदायित्वमा पनि बैंक सक्रिय रहेको बताएका छन।
























