कागजी शिक्षाले बेरोजगार
आर्थिक सञ्जाल वैशाख ६, २०७७ शनिबार
सुदर्शन कट्टेल
आज बिहान म दूध किन्न कार्की दाइकाे पसलमा पुग्दा बस्नेत काका “कीरा मसिनो चामल”काे बाेरा माथि बसेर लामै लेक्चर दिँदै गरेका भेटिए । भन्दै थिए, “तन्नम मुलुकमा मुलत: सात सिद्धान्त अनुसार शासन चल्ने गर्दछ ।
उनले भन्दै गए जस्तै,-
“१) फुटाऊ र शासन गर : याे सिद्धान्त अनुसार शासकहरुले मान्छेहरुबीच जात, धर्म, भाषा, सम्प्रदाय, क्षेत्र, राजनीतिक दल र दलभित्रै गुट र गुटभित्र उपगुट खडा गरी उनीहरुलाई एक हुनै नदिने वातावरण बनाउँछन् र शासन चलाउँछन् । २) लुटाउ र शासन गर : याे सिद्धान्त अनुसार शासकहरुले मुलुकमा नीतिगत/गैर नीतिगत भ्रष्टाचार, घुस र कमिशन विना कुनै पनि काम हुन नसक्ने वातावरण बनाई लुट मच्चाउँछन् र शासन चलाउँछन् ।
३) कुटाऊ र शासन गर : याे सिद्धान्त अनुसार शासकहरुले आफ्नो आलाेचना वा विरोध गर्नेहरुलाई आफ्ना हनुमानहरु मार्फत रामधुलाई गर्न लगाउँछन् र शासन चलाउँछन् ।
४) पट्याऊ र शासन गर : याे सिद्धान्त अनुसार शासकहरुले विभिन्न सपना देखाएर वा प्रलाेभनमा पारेर मान्छेलाई पट्याउँछन् र शासन चलाउँछन् ।
५) हटाऊ र शासन गर : याे सिद्धान्त त्यति बेला लागू हुन्छ जब सिद्धान्त नं. १), ३) र ४) ले काम गर्दैन । याे सिद्धान्त अनुसार शासकहरुले मान्छेलाई फिजिकली नै “साइड” लाउँछन् वा हटाउँछन् र शासन चलाउँछन् ।
६) लगाऊ र शासन गर: याे सिद्धान्त अनुसार शासकहरुले विशेषगरी युवाहरुलाई अाफ्नाे शिक्षा वा ज्ञान र वैयक्तिक क्षमताले केही पनि गर्नै नसक्ने वातावरण तयार पारी आफ्नाे फेर समातेर पछि लाग्ने बनाउँछन् र शासन चलाँछन् ।
७) भगाऊ र शासन गर : मुलुकमा काम नलाग्ने पुङ् न पुच्छरकाे शिक्षा प्रणाली लागू गरी शासकहरुले मान्छेलाई २ वर्षको उमेरदेखि स्कुलतिर लखेट्छन् र ३२ वर्षसम्ममा ५/७ ओटा कथित उच्च शिक्षाको डिग्री लिएकाहरूलाई समेत राेजगारीका लागि विदेशतिर भगाउने वातावरण बनाउँछन् र शासन चलाउँछन् ।”