शहीद रत्न कुमार र स्मृति दिवस
आर्थिक सञ्जाल चैत्र २७, २०७६ बिहीबार
टंक कार्की
२०३२ सालको कुरो हो । म बिराटनगरबाट घर फर्किदै थिए । झापाबाट म पैदलै हिडेर इलाम पुगें । म सोझै रत्न कुमारको डेरामा पुगे । केहि महिना अघि मात्रै म, भरत श्रेष्ठ, देवराज घिमिरे, पूर्ण भट्टराई ताप्लेजुंगबाट आउँदा त्यहाँ निस्की सकेका थियौं । त्यसो त हामी पहिला नै ‘झापाली’ भई सकेका थियौं ।
कोठामा छिर्ना साथै मैले भारी बिसाएं र हात मिलाउन थालें – कर्याप्प हात समातेर । ‘तपाई थाक्नु भ’को होला, एकछिन आराम गर्नोस ।’ रत्न कुमारले मसिनो तर उहीं आत्मीय भावले भने | त्यहाँ रत्न कुमार, गणेश राई र बसन्त पराजुली कोठा भित्रै थिए । म भने छोरी माईत आए जस्तै फुरुंग थिए, आत्मियता जो थियो ।
मलाई यी तीन जना त्रिरत्न जस्तै लाग्थ्यो – उस्तै उमेर, हित्तचित्त मिलेका । खाई लाग्दा त थिए नै, त्यो भन्दा बढ्ता उनीहरुको अनुहारमा निश्छल समर्पण प्रष्टै देखिन्थ्यो, आजभोलि जसलाई ‘व्यवहारवादी’ राजनीति भनिन्छ र ‘मालिक र कारिन्दा’को व्यवहार गरिन्छ त्यसको कहीं कतै नामोनिसाना थिएन ।
लाग्थ्यो हामी एउटै आमाका लाम्टा चुसेका हौँ । अनि मनमनै गमथे, ‘मेरो सानो समर्पण गलत ठाउँमा छैन । यिनीहरु मिशनका पक्का जोधाहा हुन् ।’ बस, मलाई के चाहियो ? ! रत्न कुमार बाँकी दुई जनाका पनि अगुवा त छँदै थिए, ‘शिल र समाधि’मा उस्तै भए पनि ‘प्रज्ञा’मा उनि माथिल्लो कोटीका थिए । अहिले लाग्छ, उनको समर्पण नै ‘प्रज्ञा, शिल र समाधि’को फ्युजन हो – निजात्मक उन्नयनको छक्कापन्जा या सुतिखेती थिएन ।
म त्यहाँ बस्दाबस्दै उनले धेरै जनासंग संवाद चलाए ! कोही अलिक पाका, कोही तरुण – तर ती म भन्दा प्रौढ थिए । बेलुका संगै खाना खायौं – खाना उनैले बनाए । अनि हामी हाम्रो ‘ब्युजिनेस’मा लाग्यौं । विधार्थी आन्दोलनको चर्चा गर्यौं, कम्युनिष्ट आन्दोलनको नयाँ शिराको चर्चा गर्यौं, ‘झापा विद्रोह’ले प्रसस्त गरेको बाटोमा छलफल चलायौं ।
पार्टी विस्तारका सम्भावनाका कुरा ‘यता त उत्साहजनक प्रगति भईरहेको छ । ताप्लेजुङ्गको निम्ति के गर्नु पर्ला ? !’ उनले यो पनि भनेका हुन्, माओ त्सेतुङ्गलाई उद्धृत गर्दै,’ क्रान्ति कार्चोपी भर्नु होइन, न त भोज भतेर गर्नु नै । बिना समर्पण र बिना बलिदान आस गर्नु पनि मिथ्या हुन्छ । क्रान्तिको आफ्नै विज्ञान हुन्छ ।’
उनि बोल्दै गर्दा म भने आफ्नै अघिल्तिर क्रान्तिको घोडा दौडदै गरेको सपना देख्दै थिए । अलिक अघि मात्रै म बिराटनगर क्याम्पसबाट ‘रेस्ट्रिकेट” भएको, ४ वर्ष अघि एसएलसीमा पनि । आफ्नै जीवनले भन्थ्यो, यो शासन अधम छ, बदल्नुको विकल्प छैन – हेलिनु पर्छ क्रान्तिमा । उनि मलाई ढाडस दिदै थिए, ‘यो सत्ताको बल नै अत्याचार हो ।’ हामी अबेर सम्म विमर्शमै रह्यौं । भोलि पल्ट विहानै म लागें आफ्नै दर्गादिशा ।
यो नै मेरो रत्न कुमार बान्तवासंगको अन्तिम भेट थियो । त्यसको तीन वर्ष पछि म काठमान्डूमा । भरतले दुखद समाचार सुनाए, ‘ कमरेड रत्न कुमारको सहादत भयो ।’ म खग्रंग भएँ, ‘ नेपाली कम्युनिष्ट आन्दोलनका एक नक्षत्रको अस्त भयो ।’ आजभोलि काठमान्डूमै छु । अक्कल झुक्कल ‘सोनाम साथि’लाई भेट्छु उनलाई देख्दा अनायास म आफैलाई उहीं इलामको झझल्को आउँछ ।
(आज उ सत्ता त छैन तर रत्न कुमारहरु हराउन थालेका छन् ।) आज उनै अमर शहिद रत्न कुमार बान्तवाको जन्म दिन तथा स्मृति दिवस । हार्दिक श्रद्धान्जली तथा लाख लाख नमन, कमरेड रत्न कुमार बान्तवा !