sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

मौद्रिक नीतिपछिको सेयर बजार

Nimb long ad
Prabhu Insurance Long Ad

रोजगारी खुम्चिएको कारण अनुत्पादक क्षेत्रमा लगानी बढ्दै गएको छ । बजेट कार्यान्वयन साउनदेखि गराउन जेठ १५ गते नै बजेट ल्याउन थालिएको केही वर्ष भइसकेको छ । बजेट कार्यान्वयन हुन सकेको छैन ।

मौद्रिक नीतिले वित्तीय नीतिलाई सहयोग पु¥याउने गरी काम गर्छ । आर्थिक वर्ष २०५९/६० देखि प्रत्येक वर्ष मौद्रिक नीति जारी गर्न थालिएको हो । वित्तीय नीति सरकारले जारी गर्ने गर्छ भने मौद्रिक नीति हरेक देशका केन्द्रीय बैङ्कहरूले जारी गर्छन् । सरकारको वित्तीय नीति प्रभावकारी हुन सकेन भने मौद्रिक नीतिले मात्रै अर्थतन्त्रमा सुधार गर्न सक्दैन । मूल रूपमा मौद्रिक नीतिले पैसा अर्थात् मुद्राको माग र आपूर्तिको व्यवस्थापन गर्छ ।

कोभिडपछि अर्थतन्त्र चलायमान बनाउन केन्द्रीय बैङ्कले लचिलो मौद्रिक नीति ल्याएको थियो । उक्त नीतिको सही सदुपयोग हुन सकेन । जसको कारण सेयर र घर जग्गामा लगानी बढ्न पुग्यो । मौद्रिक नीति छिटो नाफा आर्जनको माध्यम बन्न पुग्यो । त्यतिखेर लगानीकर्ताको ठुलो रकम बजारमा लामो समयसम्म फस्न पुग्यो ।

यस पटक सार्वजनिक गरिएको मौद्रिक नीतिले संस्थागत धितोपत्र कारोबार गर्नेलाई २० करोड ऋण सीमाको क्याप हटाएर सेयर लगानीकर्ताको मागलाई आंशिक रूपमा मात्रै सम्बोधन गरेको छ । यसले सेयर बजारलाई मनोवैज्ञानिक रूपमा सकारात्मक सन्देश मात्रै दिएको छ । व्यक्तिगत सेयर धितो कर्जाको सीमा भने यथावत् राखिएबाट लगानीकर्ता तत्कालका लागि त्यति उत्साहित हुनुपर्ने देखिँदैन ।

किनकि, देशमा उत्पादनको कुरा हुन छाडिसकेको छ । अहिले नेता, कर्मचारीदेखि सर्वसाधारण सेयर बजार, घर–घडेरी र गाडीमा अल्झिरहेका छन् । अनुत्पादक क्षेत्रका रूपमा रहेको सेयर बजार, घर–घडेरी र विलासिताका वस्तुले महत्व पाइरहेको छ । देशको अर्थतन्त्रमा तत्कालै सर्पले काचुली फेरे जसरी सुधार हुने अवस्था देखिएको छैन ।

सबैतिर आर्थिक गतिविधि खुम्चिएको छ । ऋणको भारीले जनताको दैनिकी चुलिँदै गएको छ । देशको उत्पादनमा कुनै प्रगति देखिएको छैन । सेयर बजारमा मात्रै कारोबार बढिरहेको छ । सबैले सेयर बजारलाई कमाई खाने संयन्त्रका रूपमा लिन थालेका छन् । देशका अन्य सूचकको अवस्थातर्फ कसैको ध्यान गएको छैन ।

लचिलो नीति सधैँ उपयोगी नहुन सक्छ भन्ने कुरामा यस पटक ध्यान दिएको जस्तो देखिँदैन । जसको कारण निक्षेपमा आएको न्यून ब्याजदरले पुँजी पलायनको समस्या आउन सक्ने सम्भावना बढेको छ । बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ भने मूल्यवृद्धिलाई ६.५ प्रतिशत कायम गरेको छ । मौद्रिक नीतिले मुद्रास्फीतिलाई ५.५ प्रतिशतमा कायम राख्ने भनेको छ । यसको कार्यान्वयन हुने सम्भावना पनि देखिँदैन ।

आन्तरिक अर्थतन्त्र चलायमान हुन नसक्दा आर्थिक सङ्कट कायमै छ । राजस्व सङ्कलनमा आएको कमीले सार्वजनिक ऋण बढेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब तीन करोड रुपियाँ नाघेको छ । २०८१ असार मसान्तसम्ममा मात्रै एक खर्ब ३४ अर्ब ६८ करोड ऋण थपिएको छ । योभन्दा अघि २०८० साउनमा २२ खर्ब ९९ अर्ब ३५ करोड बराबर थियो ।

कुल गार्हस्थ उत्पादन (जिडिपी) को आधारमा सार्वजनिक ऋणको प्रतिशत ४२.६५ प्रतिशत बराबर हुन आउँछ । कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको दायित्व ११ खर्ब ८० अर्ब अर्थात् जिडिपीको २०.७० प्रतिशत र बाह्य ऋणको दायित्व १२ खर्ब ५२ अर्ब ३३ करोड अर्थात् जिडिपीको २१.९५ प्रतिशत पुगेको छ ।

सार्वजनिक ऋणको दायित्व भुक्तानी गर्न सरकारले बर्सेनि ठुलो रकम विनियोजन गर्नुपर्ने अवस्था विद्यमान छ । विकास आयोजनामा न्यून बजेट विनियोजन गरेका कारण सिर्जित दायित्व भुक्तानी गर्न सरकारका लागि चुनौती बनेको छ । सरकारको राजस्वबाट प्राप्त हुने आम्दानी चालु खर्चमै सकिने र सार्वजनिक ऋणको भुक्तानी दायित्व हरेक वर्ष बढ्दै जाने अवस्था चिन्ताको विषय हो ।

मौद्रिक नीति लचक भए पनि कमजोर सुशासन, राजनीतिक हस्तक्षेप जस्ता कारणले आन्तरिक अर्थतन्त्र चलायमान भइहाल्छ भन्न सकिँदैन । कोभिड–१९ पछि बजारमा ठुलो मात्रामा तरलता प्रवाह गरेपश्चात् ब्याजदरमा आएको गिरावटको फाइदा लिई बैङ्किङ कर्जा सेयर बजारमा केन्द्रित भएको थियो । ब्याजदर कम हुँदा र अधिक तरलताको अवस्थामा समेत कर्जा लगानी सेयर र घर जग्गाबाहेक अन्य क्षेत्रमा जान सकेन । अहिले पनि त्यस्तै अवस्था देखिन थालेको छ ।

मौद्रिक नीतिले कर्जा नोक्सानी व्यवस्थालाई घटाई असल कर्जाको व्यवस्था विगतको १.२० बाट १.१० कायम गरेको छ । यसले क्षणिक नाफामा वृद्धि देखिए पनि दीर्घकालीन रूपमा बैङ्कलाई नै कमजोर तुल्याउने छ । अहिलेको मुख्य समस्या भनेको कर्जाको माग नबढ्नु हो । कर्जाको ब्याजदर घट्दासमेत कर्जाको माग हुन सकिरहेको छैन । सोही कारण बैङ्क तथा वित्तीय सङ्घ–संस्थामा तरलता अधिक भएको छ । कर्जाको माग बढाउने तर्फ नीतिले काम गर्न सक्ने सम्भावना कम छ ।

राष्ट्र बैङ्कलाई कर्जा बढाएर बजार चलायमान बनाउने सबैभन्दा ठुलो चुनौती छ । यो सँगै महँगीलाई निर्धारित सीमामा राख्नुपर्नेमा त्यसतर्फ राख्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा मौद्रिक नीतिले निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर १२.५ प्रतिशत पुर्याउने बताएको छ । गत आवमा निजी क्षेत्रमा जाने कर्जा प्रवाह ६ प्रतिशत रहेको थियो । ६ प्रतिशतबाट कर्जा प्रवाह साढे १२ प्रतिशत पु¥याउने कार्य असम्भव जस्तै छ ।

गत आवमा साढे ११ प्रतिशत निजी क्षेत्रमा जाने कर्जा बढाउने लक्ष्य राखिएकोमा ६ प्रतिशत हाराहारीमा मात्रै वृद्धि भएको थियो । त्यसभन्दा अघिको आवमा साढे १२ प्रतिशतको कर्जा विस्तारको लक्ष्य राखिएकोमा ३ प्रतिशतको हाराहारीमा मात्रै कर्जा बढेको थियो । अघिल्ला वर्षमा निजी क्षेत्रमा प्रवाह हुने कर्जामा खासै सुधार आउन सकेको देखिएको छैन । यस्तो अवस्थामा एकैचोटि महत्वाकाक्षी लक्ष्य राख्दैमा उक्त लक्ष पूरा हुने आधार देखिँदैन । मौद्रिक नीतिले लिएको लक्ष्य पूरा गर्न एक वर्षमा साढे ६ खर्बभन्दा बढी कर्जा विस्तार गर्नुपर्ने हुन्छ ।

बैङ्क तथा वित्तीय संस्थासँग लगानीयोग्य साधन बढ्दै गए पनि कर्जा विस्तार बढ्न सकेको छैन । कर्जाको ब्याजदर कम भए पनि लगानीको वातावरण बन्न नसकेको कारण आन्तरिक मागमा सुधार आएको छैन । सोही कारण कर्जा विस्तार हुन कठिन देखिएको हो । वर्तमानमा करिब ६ प्रतिशत मात्रै कर्जा वृद्धि गर्न समेत कठिन भइरहेको अवस्थामा साढे १२ प्रतिशत कर्जा वृद्धिको लक्ष्य पूरा गर्ने कार्य आफैँमा चुनौतीपूर्ण छ ।

बजारमा उपभोक्ताको माग बढ्यो भने मात्रै कर्जाको माग बढ्छ । उपभोक्ताको हातमा जति नगद प्रवाह बढ्यो, त्यति कर्जाको माग बढी हुन्छ । यसका लागि सरकारले पुँजीगत खर्च बढाउन सक्नु पर्छ । अनि मात्रै कर्जाको माग बढ्छ । कर्जा माग नबढ्दा निजी क्षेत्र सङ्कुचित भइरहेको छ । पुँजीगत खर्च गर्न नसकेर बजेट फ्रिज हुनेसम्मको अवस्था आउँदा पनि वित्त नीतिले पुँजीगत खर्च बढाउन सकेको छैन । सोही कारण अर्थतन्त्रको विस्तार हुन नसकेको हो ।

आन्तरिक अर्थतन्त्र चलायमान बनाउन साना व्यवसायीलाई दिइने सहुलियत, कृषि क्षेत्रको विकास, उद्योगलाई प्रवर्धन, विप्रेषण तथा विदेशी मुद्राको सञ्चितिलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने र बढ्दो व्यापार घाटा घटाउनेतर्फ नीतिले स्पष्ट कार्यदिशा दिएको छैन । आन्तरिक उत्पादन, निर्यात, रोजगारी सिर्जना र कर्जाको माग कमजोर छ ।

यस्तो अवस्थामा नयाँ सरकार गठन र मौद्रिक नीति आएपछि सेयर बजार वृद्धि भएको छ । यो दीर्घकालीन होइन । आर्थिक गतिविधिमा महिनौँदेखि कायम शिथिलता र उद्योग–व्यवसायको उत्पादन तथा कारोबारमा मन्दी आइरहेको छ । आर्थिक गतिविधिमा शिथिलता छ । उपभोग घटिरहेको छ ।

आर्थिक अवस्थाको जटिलतामा मौद्रिक नीतिबाट सबै समस्या समाधान हुन नसक्ने हुँदा बजारप्रति अनावश्यक लगाव राख्नु अहिलेको अवस्थामा उपयुक्त नहुन सक्छ । दुई ठुला दलकै कारण राजनीतिक स्थिरता कायम भयो भने त्यसले अर्थतन्त्र चलायमान बनाउने भूमिका खेल्नेमा दुईमत छैन ।

gold
prabhu bank
nawakantipur long