गुण एयरलाइन्सको काठमाडौं –सुर्खेत उडान आजबाट सुरू
काठमाडौं । निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आज पुस १८ गते आइतबारदेखि काठमाडौं–सुर्खेत व्यावसायिक उडान सुरु गरेको छ।
सन् २०२२ को सुरुआतमै यो कम्पनीले थप गन्तव्यका रुपमा सुर्खेत उडान गर्न लागेको हो। हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौं–सुर्खेत रुटमा उडान गर्दै आएको थियो।
गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आज आइतबारदेखि १८ सिटे जहाजबाट उडान सुरुआत गरिएको जानकारी दिएका छन्। काठमाडौं–सुर्खेत उडानका लागि भाडादर तोकिसकेको छ।
काठमाडौं–सुर्खेतका लागि रु. ८ हजार ५४५, रु. ९ हजार ५४५ र रु. ११ हजार ४२० भाडादर तोकिएको गुण एयरलाइन्सले जनाएको छ । उक्त एयरलाइन्सले दैनिक बिहान ८ः३० बजे काठमाडौंबाट सुर्खेत र बिहान ९:५० बजे सुर्खेतबाट काठमाडौं उडान भर्ने जनाएको छ।
यही पुस २६ गतेदेखि भने दिउँसो २ः३० बजे काठमाडौंबाट र ३:५० बजे सुर्खेतबाट उडान गर्ने बताएका छन्। बुद्ध एयरले भने दैनिक बिहान ७ः२० बजे काठमाडौंबाट उडान भर्दै आएको छ।























