stcnepal long ad
global ime bank long

नेपाल वायुसेवा निगमले सोमबारदेखि जापानको नारितामा व्यावसायिक उडान शुरु गर्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६

काठमाडौँ । नेपाल वायुसेवा निगमले सोमबारदेखि पहिलो पटक जापानको नारितामा चन्द्र र सूर्य अङ्कित राष्ट्रिय ध्वजावाहक विमानको व्यावसायिक उडान शुरु गर्ने भएको छ । निगमले गत भदौ १२ गते ओसाका उडान शुरु गरेको थियो, तर नेपाली नागरिक र नेपाल आउने पर्यटकलाई ध्यानमा राखेर ओसाका उडान बन्द गरेर काठमाडौँ–नारिता उडान गर्न लागेको हो । “नेपाली नागरिक र पर्यटकलाई ओसाका विमानस्थल टाढा भयो”, निगमका प्रवक्ता अर्चना खड्काले भने, “टोकियो नजिकैको नारिता विमानस्थलमा पहिलो व्यावसायिक उडान शुरु गर्न लागिएको हो, नेपाली धेरै बस्ने भएकाले सहज हुन्छ ।

” जापानमा रहेका नेपालीका लागि आउजाउ गर्न नारिता उडानले सहज हुने देखिएको छ । नारिता उडान शुरु हुनु अगावै टिकट अग्रिम बुकिङ भइरहेको जानकारी दिँदै निगमका प्रवक्ता खड्काले भने, “काठमाडौँ–नारिता–काठमाडौँ उडानका लागि टिकटको अग्रिम बुकिङ गरिएको थियो, काठमाडौँबाट नारिता जाने २२० जनाभन्दा बढी यात्रुले अग्रिम बुकिङ गरिसकेका छन् भने उताबाट आउने २६८ जनाले टिकट लिएका छन् ।

काठमाडौँ–नारिता उडानका लागि निगमले साताको सोमबार, बुधबार र शुक्रबारको उडान इजाजत पाएको छ । काठमाडौँबाट राति १ः२५ बजे उडान गरेको जहाज स्थानीय समयअनुसार ११ः०० बजे नारिता अवतरण गर्नेछ भने नारिताको समयअनुसार दिउँसो १ बजे उडान गरेको जहाज नेपाली समयअनुसार १८ः२५ बजे अवतरण हुनेछ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइड बडी ए–३३० जहाज छन् ।

त्यही जहाजबाट उडान हुनेछ । निगमका अनुसार नारिता उडानका लागि दुईतर्फी भाडादर न्यूनतम रु ७३ हजार कायम गरिएको छ । शुरुआतमा ‘प्रमोशनल फेयर’अन्तर्गत यो भाडादर सार्वजनिक गरे पनि भाडादर परिर्वतन हुनसक्छ । निकट भविष्यमा यात्रुको मागअनुसार भाडादर कायम गरिनेछ । नेपालले २७४ सिट क्षमता भएको वाइडबडी जहाजबाट निगमले ‘सेडुल’ उडान शुरु गर्न लागेको हो ।

IME Lifesidebar
kumari