stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

भदौबाट उडान खुल्ने भएपछि वायुसेवा कम्पनीको तयारी तीव्रः व्यवसायी भने अन्योलमै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आगामी भदौ १ गतेदेखि सञ्चालन हुने आन्तरिक व्यावसायिक उडानका लागि विभिन्न एयरलाइन्सका दैनिक ४८ उडान हुने भएका छन् । बन्दाबन्दीको झण्डै पाँच महिनापछि शुरु हुने व्यावसायिक उडानका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले ४८ वटा उडान स्वीकृति दिएको जनाइएको छ ।

प्राधिकरणले शहरी क्षेत्रका विमानस्थल (ट्रंक रुट) मा ३९ उडान र दुर्गममा हुने उडान (स्टल) का लागि नौ वटा गरी दैनिक ४८ उडानलाई अनुमति दिइएको छ । उडान खुल्ने भएपछि आन्तरिक उडानका वायुसेवा कम्पनीले पूर्व तयारी तीव्र पारेका छन् ।

बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाइन्स लगायत ठूला कम्पनीले सुरक्षित उडानका लागि विशेष तयारी गरिरहेका छन् । कतिपय एयरलाइन्सले उडान तालिका बनाएर प्राधिकरणबाट स्वीकृति पनि लिइसकेका छन् । यस विषयमा प्राधिकरणले औपचारिक निर्णय गरिसकेको छैन ।

वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालका प्रवक्ता योगराज कँडेल शर्माले ट्रंक रुटमा अहिलेलाई ४८ उडान प्राधिकरणबाट स्वीकृत भएको बताए । हेलिकप्टरको उडान थपिनेछ ।

बुद्ध एयरले १८ उडान अनुमति पाएको छ । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले उडान सञ्चालनका लागि आवश्यक सबैखाले तयारी गरिएको बताए ।

बुद्ध एयरले सबै गन्तव्यमा उडान गर्ने योजनाअनुरुप टिकट बुकिङ खुलाएको उनले जानकारी दिए । बुद्धले ११ एटिआर सहित १३ जहाजमार्फत आन्तरिक उडान गर्दै आएको छ । सामान्य अवस्थामा दैनिक १०० हाराहारी उडान गर्ने बुद्धले बन्दाबन्दीपछिको शुरुआती चरणको उडानमा कम संख्यामा उडान गर्नेछ ।

निजी क्षेत्रको अर्को यती एअरलाइन्सले ११ उडान अनुमति पाएको छ । सुरक्षित उडानका लागि स्वास्थ्य प्रोटोकल प्राधिकरणबाट अनुमोदन गराई पूर्वाभ्यास गरिरहेको छ ।

यती एअरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले स्वास्थ्य प्रोटोकल पालना गर्दै दैनिक रुपमा कर्मचारीलाई अभ्यास तथा स्वास्थ्य सर्तकताका सबैखाले तयारी गरिएको जानकारी दिए ।

यतीले शुरुमा ११ उडान गर्नेछ । अवस्था हेरेर क्रमशः उडान थप्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ । यतीले सामान्य अवस्थामा दैनिक ७० सम्म उडान गर्दै आएको थियो । यतीसँग हाल पाँच एटिआर र पाँच जेटस्ट्रिम सहित १० जहाज छन् ।

आठ उडान अनुमति पाएको श्री एयरले पनि आफ्ना गन्तव्यमा सुरक्षित उडानका लागि पूर्व अभ्यास लगायत तयारी गरिसकेको छ । कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले भदौ १ गतेदेखि हुने उडानको सम्पूर्ण तयारी सकिएको बताए । पहिला दैनिक २० उडान गर्ने श्री ले पनि भदौ पहिलो साताभर दैनिक आठ उडान गर्नेछ । कम्पनीसँग सिआरजे ७०० र सिआरजे २०० सिरिजका समान दुई जहाज तथा ‘ड्यास एट’ दुई गरी जम्मा छ वटा जहाज छन् ।

समान तीन उडान पाएको सीता र समिट तथा सीम्रिक एयरले दुई वटा उडान गर्ने अनुमति पाएका छन् । सौर्य एयरलाइन्सको जहाज ग्राउण्डेड रहेकाले उडानको यकिन भएको छैन ।

विमानस्थलमा प्रतिघण्टा ३५० यात्रुलाई मात्र उडान गर्ने प्राधिकरण र वायुसेवा प्रदायकबीच सहमति भएको छ । यो व्यवस्था भदौको पहिलो हप्ताका लागि लागू गर्ने र सोको आधारमा पुनः भदौ ५ गते बैठक बसी निर्णय हुने प्राधिकरणले जनाएको छ ।

पहिलो हप्ता बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म उडानका लागि समय निर्धारण गर्ने सहमति भएको छ ।

उडान अन्योल कायमै

वायुसेवा कम्पनीले उडान सञ्चालनको तयारी तीव्र पारिरहँदा अझै उडान हुने होकी भन्ने यकिन भएको छैन । काठमाडौँ उपत्यकामा दैनिक कोभिड–१९ संक्रमणका बिरामी बढिरहेकाले पुनः लकडाउन हुनसक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चेतावनी दिएको छ ।

विज्ञहरुको सुझावलाई लिएर सरकारले कोभिड संक्रमण नियन्त्रणका लागि पुनः सवारी साघनको जोर बिजोर प्रणाली लागू गर्नसक्ने बताइएको छ । सोही सम्भावित अवस्थालाई ध्यानमा राख्दै हवाई कम्पनीले पाँच महिनापछि शुरु हुन लागेको हवाई उडान प्रभावित हुनसक्ने आशंका गरेका छन् । सार्वजनिक यातायात पूर्ण सञ्चालनमा नआउँदा हवाई उडानलाई समेत असर पर्ने उनीहरुको बुझाइ छ ।

ट्रंक रुटमा मुख्यगरी विराटनगर, सिमरालगायत गन्तव्यमा अवरोध कायमै रहेको तथा नेपालगञ्जसहित अन्य विमानस्थलमा पनि समस्या आउनसक्ने भएकाले शुरुआती व्यावसायिक उडान सञ्चालनमा कठिनाइ हुन सक्ने संघका प्रवक्ता शर्माले बताए ।

श्री एयरलाइन्सका संस्थागत प्रबन्धक मानन्धरले एयरलाइन्सले उडान तयारी गरे पनि आगामी दिनको अवस्था कस्तो हुने भन्ने अन्योल रहेको बताए । कम्पनीले आफ्ना जहाज जाने मुख्य गन्तव्यमा अवरोध रहेकाले पोखरा गन्तव्यमा मात्रै उडान हुनसक्ने जनाएको छ । आन्तरिक उडानमा १० हेलिकप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान गर्दै आएका छन् ।नियमित उडानमा ३४ हेलिकप्टर र ४६ जहाज छन् । आन्तरिकमा दैनिक ३५० भन्दा बढी उडान हुँदै आएको थियो । रासस

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long