ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने
काठमाडौँ, । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचनमा नेतृत्वका त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।
टानको आगामी भदौँ १७ गते हुने वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा पर्यटन व्यवसायी रामसरण थपलिया, राजेन्द्रप्रसाद सापकोटा र सागर पाण्डेबीच प्रतिस्पर्धा हुने भएको हो ।
साधारणसभाको एक महिना अघिदेखि नै प्रत्यासीहरू उम्मेदवारी घोषणा गरेर प्रचार–प्रसार र भेटघाटमा सक्रिय भएका छन् ।
टानका महासचिव विनोद सापकोटाले नेतृत्व सर्वसम्मत चयनका लागि छलफल भइरहेको भन्दै सहमति नभए निर्वाचन मार्फत नयाँ कार्यसमिति चयन हुने बताउनुभयो । उहाँका अनुसार टानमा करिब दुई हजार पदयात्री व्यवसायी आवद्ध छन् ।
अध्यक्षका प्रत्यासी थपलिया तीन दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ । ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष हाल नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्य हुनुहुन्छ ।
आकाश ट्रेक्स एन्ड एक्सीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक थपलियाले नेपाल निर्यात परिसङ्घको निवर्तमान उपाध्यक्षको जिम्मेवारी पनि सम्हालिसक्नु भएको छ ।
टान नेतृत्वमा पुगेको खण्डमा नीतिगत सुधारमा विशेष ध्यान दिने उहाँले बताउनुभयो । “टानमा नीतिगत कुराको समस्या छ, पुरानो पर्यटन ऐन परिमार्जनका लागि पहल गर्नुपर्नेछ”, थपलियाले भन्नुभयो, “आफू कानुन क्षेत्रमा पनि आवद्ध भएकोले नीतिगत सुधारमा विशेष ध्यान दिने छु ।”
यस्तै, अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटा विगत २० वर्षदेखि पर्यटनमा सक्रिय हुनुहुन्छ । नेपाल पर्यटन बोर्डको पूर्वसञ्चालक समिति सदस्य सापकोटा आउटडोर हिमालयन ट्रेक्सका प्रबन्ध निर्देशक हुनुहुन्छ ।
पदयात्रा व्यवसायको संरक्षण र साहसिक पर्यटन प्रवर्दनमा आफ्नो भूमिका केन्द्रीत हुने उहाँले बताउनुभयो । “पदयात्रा पर्यटन व्यवसाय समस्याग्रस्त छ, स्थानीय निकायले विकास निर्माणको नाममा पदमार्गको अस्तित्व जोखिममा परेको छ । त्यसैले पदमार्ग संरक्षण मेरो पहिलो प्राथमिकता हुन्छ ।”
उहाँले स्थानीय तहसँग समन्वय गरेर पदमार्गको दिगो विकासका लागि पहल गर्ने, रोजगारी सिर्जना, मजदुरका समस्या सम्बोधनका लागि ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । पाठ्यक्रम मै पदयात्रा पर्यटनलाई समेटेर साहसिक पर्यटनको सम्भाव्य क्षेत्रमा सचेतना अभिवृद्धि गर्न पहल गर्ने सापकोटाको भनाइ छ ।
अध्यक्ष पदका अर्का प्रत्यासी सागर पाण्डेले पनि उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । टानको पूर्वमहासचिवसमेत रहनु भएका पाण्डेले संस्थागत सुधार, पर्यटन मजदुरको कल्याणकारी कोष स्थापना, गन्तव्य प्रवर्द्धनलगायत विषयलाई प्राथमिकता दिने उहाँको योजना छ ।
टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था छ ।