सविता रानामगर सर्वोत्कृष्ट खेलाडी घोषित

काठमाडौँ । अखिल नेपाल फुटबल संघले आयोजना गरेको एन्फा महिला लिगको फुटबल प्रतियोगितामा सविता रानामगर सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मैदानमा भएको फाइनल खेलमा एपिएफले पुलिसलाई ४–० गोलअन्तरले पराजित गरेको थियो । एपिएफकी फरवार्ड सविता रानामगरले उक्त उपाधिसहित रु एक लाख प्राप्त गरिन् ।
त्यसैगरी ३५ गोल गरेकी एपिएफकी रश्मिकुमारी घिसिङ सर्वाधिक गोलकर्ता र एपिएफकै सावित्री किसन उत्कृष्ट गोलकिपर चुनिइन् । उनीहरूले जनही रु। ५० हजार प्राप्त गरे ।
त्रिभुवन आर्मी क्लबले फेयर प्लेको ट्रफी पाउन सफल भयो । विजेतालाई परराष्ट्र मन्त्री आरजु राणा देउवा, एन्फाका पदाधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरेकी थिइन् ।