stcnepal long ad
ime life insurance
global ime bank long

पूजाको कप्तानीमा यू–१९ विश्वकप खेल्ने नेपाली टोली घोषणा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी यू–१९ महिला विश्वकप २०२५ का लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ । नेपाली टोलीको कप्तानी पूजा महतोले गर्दैछिन् भने उपाकप्तानमा सोनी पाख्रिन छिन् ।

मलेसियामा माघ ५ गतेदेखि हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन्। विश्वकपमा चार समूहका १६ टोली समूह चरणमा भिड्ने छन् ।

समूहका शीर्ष दुई टोली अन्तिम आठमा पुग्ने छन् । नेपालले पहिलो खेल बंगलादेशसँग माघ ५ गते खेल्नेछ। सो खेल मलेसियाको बांगीमा हुनेछ । दोस्रो खेल माघ ७ गते स्कटल्यान्ड र तेस्रो खेल माघ ९ गते अस्ट्रेलियाविरूद्ध हुनेछ ।

सन् २०२३ देखि सुरु भएको यू–१९ विश्वकपको यो दोस्रो संस्करण हो । अघिल्लो संस्करणको छनोटमा नेपाल तेस्रो हुँदा छनोट हुन असफल भएको थियो । सन् २०२५ को विश्वकपमा छनोट भएको नेपालले सन् २०२७ को यू–१९ महिला विश्वकपमा स्थान पक्का गरिसकेको छ।

किनभने नेपाल र बंगलादेशले सन् २०२७ को यू–१९ विश्वकपको आयोजकको रुपमा प्रतियोगितामा पनि स्थान पक्का गरिसकेका हुन्। आगामी संस्करणमा स्वतः स्थान पक्का हुनुअघि छनोट भएर नेपाली यू–१९ टोलीले आफूहरु विश्वकपका लागि हकदार भएको समेत प्रमाणित गरेका छन् ।

सन् २०२७ मा विश्वकपको आयोजना गरेसँगै नेपालले क्रिकेटको ग्लोबल इभेन्ट पहिलो पटक आयोजना गर्ने इतिहास पनि बनाउनेछ ।

सन् २०२५ मा नेपाली महिला क्रिकेट इतिहासमा पहिलो पटक विश्वकप खेल्ने इतिहास कोरिदैछ । युएईमा सञ्चालन भएको एसिया छनोटमा नेपालले घरेलु टोलीलाई पछि पार्दै यू–१९ विश्वकपमा स्थान पक्का गरेको थियो। छनोटमा नेपाल र युएईसहित कुवेत र थाइल्याण्डले भाग लिएका थिए।

यस्तो छ नेपाली टोली
पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत, कृश्मा गुरुङ ।

prabhu mahalaxmi
kumari