रेमिट्यान्सलाई उत्पादमुलक क्षेत्रमा सदुपयोग गरेर राष्ट्रिय अर्थतन्त्र बलियो बनाउँ : राजेन्द्र मल्ल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादमुलक क्षेत्रमा सदुपयोग गरेर राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनुपर्ने बताएका छन् ।
बिहीबार आयोजित राष्ट्रिय विकास परिषदको बैठकमा उनले रेमिट्यान्सबाट आएको रकमलाई उत्पादनमुखी र विदेशबाट फर्किएका युवाहरूको शीपलाई पनि सदुपयोग हुने खालको नीति एवम् योजना बनाउनुपर्नेमा जोड दिँदै रेमिट्यान्सलाई उत्पादनमुखी बनाउने खालको नीति योजना तर्जुमा गर्नुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकल दाहाल ‘प्रचण्ड’ समेत उपस्थित कार्यक्रममा उनले भने, ‘रेमिट्यान्सको पैसा ९० प्रतिशतसम्म उपभोगमा नै खर्च भइरहेको छ, विदेशबाट भित्रिएको रकमलाई उत्पादमुलक क्षेत्रमा सदुपयोग गरेर राष्ट्रिय अर्थतन्त्र बलियो बनाउँ ।’
वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको सीपलाई स्वदेशमा सदुपयोग गर्न अध्यागमनमा सीपको लगत सङ्कलन गर्नुपर्ने व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।
अर्को प्रसङ्गमा निर्वतमान अध्यक्ष मल्लले १६औं पञ्चवर्षीय योजना, सरकारको बजेट एवम् मौद्रिक नीतिबीच पनि प्रभावकारी समन्वय हुनुपर्ने बताए । पञ्चवर्षीय योजना महत्वाकांक्षी हुने तर कार्यन्वयन पाटो निकै फितलो हुँदा अपेक्षित लाभ हासिल हुन नसकेको पनि उनले बताएका छन् ।
निर्वतमान अध्यक्ष मल्लले आगामी बजेट वस्तुपरक र खर्च गर्न सक्ने क्षमताको ल्याउन समेत सरकारलाई सुझाव दिए । श्रोत सुनिश्चित गरेर मात्रै बजेट बनाउनुपर्नेमा जोड दिँदै उनले बजेटलाई वितरणमुखी भन्दा पनि उत्पादनमुखी बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।
सार्वजनिक, निजी साझेदारीलाई प्रोत्साहन गर्नेगरी योजना बनाउन उनले राष्ट्रिय योजना आयोगलाई सुझाव दिएका छन् ।