काठमाडौंका १२ जना नगर प्रहरीको तह वृद्धि
काठमाडौं । काठमाडौं ।महानगरपालिकाको नगर प्रहरी बलका १२ जना नगर प्रहरीको तह वृद्धि भएको छ ।
महानगरपालिका प्रहरी ऐन २०८० को व्यवस्था बमोजिम प्रमुख प्रशासकीय स्तरीय निर्णयबाट नगर प्रहरी नायब निरीक्षकबाट नगर प्रहरी वरिष्ठ नायब निरीक्षकमा तह वृद्धि गरिएको हो ।
तह वृद्धि गरिएका प्रहरीहरूलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
दर्ज्यानी चिह्न प्रदान गर्दै उहाँले महानगरपालिकाको छवि नगर प्रहरीको आचरणमा देखिने भएकाले अनुशासित, निष्पक्ष, इमानदार र उत्तरदायी सेवामा प्रतिबद्ध रहन निर्देशन दिनुभयो ।
कार्यक्रममा प्रशासन विभागका प्रमुख नमराज ढकाल, महानगर प्रहरी बलका प्रमुख एवम् नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डे सहित अधिकारीहरूले महानगरका नीति, योजना तथा कार्यक्रम र शहरी सुशासनमा नागरिकले नगर प्रहरीमाथि विश्वास गरेको बताउँदै यो विश्वासमा आँच आउन दिन नहुने उल्लेख गर्नुभयो ।