stcnepal long ad
global ime bank long

पार्टी बलियो होस् : गौतम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २८ गते आइतबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले पार्टी बलियो बनाउनेमा आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभएको छ । गोरखापत्रसँग शनिबार सङ्क्षिप्त कुरा गर्नुहुँदै नेता गौतमले भन्नुभयो, “पार्टी बलियो भयो भने सरकार बलियो हुन्छ, सरकार बलियो भए देश र जनताको पक्षमा काम गर्न सक्षम हुनेछ । ”
कोरोना महामारीले देशको सङ्कटपूर्ण यो अवस्थामा पार्टी र सरकार दुवै बलियो बनाउनेमा सबैको ध्यान जानुपर्ने भन्दै आफूलाई जोडेर मिडियामा विभिन्न थरीका समाचार आएकोमा आफूलाई दुःख लागेको उहाँको भनाइ छ ।
यही वैशाख १७ गतेको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राख्नुभएपछि मिडियाले आफूखुसी समाचार बनाएको प्रस्ट पार्नुहुँदै नेता गौतमले ‘प्रधानमन्त्री बन्नुपर्छ’ भन्ने प्रस्ताव आफूले बैठकमा नगरेको प्रस्ट पार्नुभयो ।

यस्तै वैशाख २० गते बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभाको सदस्य बनाउने निर्णय गरेको थियो । सो निर्णयपछि नेता गौतमलाई प्रधानमन्त्री बनाउने तयारी पार्टीले गरेको अनुमानसहितका समाचार मिडियाले सम्प्रेषण गरेका थिए । तर सो बैठकमा पनि आफूले प्रधानमन्त्री हुनुपर्ने माग नगरेको उहाँले प्रस्ट पार्नुभयो ।
“पार्टीले आवश्यक ठानेर निर्णय गर्छ भने त्यसलाई अस्वीकार गर्ने कुरा रहँदैन तर मैले प्रधानमन्त्री हुनुपर्छ भनेको छैन”, नेता गौतमले स्पष्ट पार्दै थप्नुभयो, “पार्टीको जिम्मेवार नेता तथा कार्यकर्ताको हिसाबले पार्टीले गर्ने निर्णयविरुद्ध त म जान सक्दिनँ । ”
केही दिनयता आफूविरुद्धको तथ्यहीन समाचार शृङ्खलाबद्ध रूपमा प्रकाशित हुँदा आफूलाई आश्चर्य लागेको बताउनुहुँदै नेता गौतमले भन्नुभयो, “नबोलेको कुरा पनि बिनास्रोत समाचार आउँछ । भ्रममा पार्ने काम भइरहेको छ । ” जनताले बहुमत दिएर पठाएको वर्तमान सरकार ढलेमा मुलुक पुनः अस्थिरतामा जाने भन्नुहुँदै नेता गौतमले नेकपाका अध्यक्ष ओली नेतृत्वको सरकारले मुलुकको समृद्धि कायम गरेर मात्रै विश्राम लिनुपर्छ भन्नुभयो ।
यसअघि नेता गौतमले तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रलाई एकता प्रक्रियामा लैजान महìवपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँकै प्रयास र पहलमा दुई पार्टीबीच २०७५ जेठ ३ गते एकता सम्भव भएको थियो ।
यसैबीच प्रतिनिधि सभाका सांसद तुलसी थापाले पार्टीभित्र अनुशासन हराएको टिप्पणी गर्नुभएको छ । नेता गौतमलाई लिएर पार्टीभित्र र बाहिर अनेक टिप्पणी हुन थालेपछि उहाँले शनिबार सो टिप्पणी गर्नुभएको हो । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उहाँले भन्नुभएको छ, “हिजो अनुशासनको पाठ सिकाउने गुरुहरूको सीप आज कता हरायो ?” बोल्दै नबोलेको अनुमानकारिताप्रति उहाँले रोष प्रकट गर्नुभयो ।  आजको गोरखापत्र दैनिकबाट

IME Lifesidebar
kumari