‘सांसद अपहरण’ प्रकरणमा पूर्वआइजिपी खनालका चालकसँग लिइयो बयान

आर्थिक सञ्जाल २०७७ वैशाख २८ गते आइतबार
काठमाडौँ । ‘सांसद अपहरण प्रकरण’मा नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक(आइजिपी) सर्वेन्द्र खनालका चालकसँग बयान लिइएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले शनिवार पूर्वआईजीपी खनालका चालक प्रहरी हवल्दार शिव तामाङसँग बयान लिएको हो ।
पूर्वआईजीपी खनाल सहित नेकपा सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ र नवीन बस्नेत विरुद्ध समाजवादी पार्टीका सांसद तथा पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवका तर्फबाट बिहीबार काठमाडौँ प्रहरी परिसरमा ‘अपहरण’को मुद्दा दर्ता भएको थियो ।
यससँगै परिसरले अपहरण आरोपित नेकपा सांसद बस्नेत र पीडित समाजवादीका सांसद यादवका अंगरक्षक समेत रहेका प्रहरी जवानद्वय डिल्लीराम भट्टराई र चुणामणि भट्टराईलाई बयानका लागि उपस्थित गराइदिन प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको थियो । बिहीबार नै परिसरले निरीक्षकको नेतृत्वमा अनुसन्धान टोली महोत्तरी पठाएको छ ।
वैशाख १० गते पूर्व आइजिपी खनाल तथा नेकपा सांसदद्वय बस्नेत र श्रेष्ठले समाजवादी पार्टी विभाजन गर्ने मनसायले सो पार्टीका सांसद यादवलाई महोत्तरीस्थित घरबाटै जबरजस्ती गाडीमा हालेर काठमाडौँ ल्याएको आरोपमा काठमाडौँ परिसरमा अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा दर्ता भएको हो ।
अपहरित भनिएका यादव परिसर पुगेर मुद्दा दर्ता गर्न खोज्दा प्रहरीले दर्ता गर्न नमानेपछि यादव वैशाख २२ गते काठमाडौँ सरकारी वकिलको कार्यालय गएका थिए । सोही मुद्दा सरकारी वकिलको कार्यालयबाट बिहीबार परिसरमा पठाइएको थियो ।