stcnepal long ad
ime life insurance
national life
global ime bank long

कोरोना बीमा गर्नेको सङ्ख्या सात लाख नाघ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ, भदौ ६ गते । पछिल्लो समय मुलुकमा कोरोना सङ्क्रमण र सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा कोरोना बीमा गर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको छ ।
सङ्क्रमितको ग्राफ उकालो लाग्दै गर्दा कोरोना त्रासमा रहेकाले धमाधम कोरोना बीमा गर्न थालेपछि बीमा गर्नेको सङ्ख्या साढे सात लाख पुगेको छ । बीमा समितिका अनुसार कोरोना बीमाबाट ४२ करोड प्रिमियम सङ्कलन भएको छ भने दाबीका लागि आउनेको सङ्ख्या पनि २६० भन्दा माथि लागेको छ ।

सुरुवातमा खासै आकर्षण नदेखिएको कारोना बीमा पछिल्लो समय लोकप्रिय बनिरहेको भन्दै समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भन्नुभयो, “यसले सर्वसाधारणमा बीमा गर्नुपर्छ भन्ने सन्देश पनि गएको छ । ”

वैशाख ७ देखि सुरु भएको कोरोना बीमा कार्यक्रमले सुरुवातमा खासै उचाइ लिन नसके पनि चार महिनाको अवधिमा सङ्ख्या उल्लेख्य बढेको हो । त्यसो त दुई/चार वर्षको अवधिमा बीमा व्यवसायले नै फड्को मारेको छ । समितिको असार महिनाको तथ्याङ्क अनुसार वैदेशिक रोजगार सहित २७ प्रतिशत जनतामा बीमा पुगेको छ । कोरोना बीमाले गाउँगाउँसम्म एउटा लहर पनि ल्याएको समितिले जनाएको छ ।

आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठ पनि कोरोना बीमा कार्यक्रमले मान्छेको जीवनमा बीमा पनि अभिन्न अङ्ग हो भन्ने कुरा बुझाउन मद्दत गरेको बताउनुहुन्छ । कोरोना महामारीले बीमाको महत्वलाई बुझाएको भन्दै उहाँले सर्वसाधारणको आकर्षण पनि उल्लेख्य बढेको बताउनुभयो ।

बीमा दाबीका लागि बीमालेख खरिद गरेको १५ दिनपछि र स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण भएको पाइएमा बीमालेख बमोजिमको कम्पनीले दाबी भुक्तानी गर्ने उहाँले बताउनुभयो ।
बीमा कम्पनीले दाबी निवेदन पेस गरेको सात दिनभित्र बीमितलाई भुक्तानी दिनुपर्ने कोरोना बीमा कार्यविधिमा व्यवस्था गरिएको भन्दै समितिका कार्यकारी निर्देशक पौडेलले भन्नुभयो, “दाबी भुक्तानी नहुँदै बीमितको मृत्यु भएमा बीमितले इच्छाएको व्यक्ति वा कानुनी हकवालालाई भुक्तानी गर्नुपर्ने
व्यवस्था छ । ”

कति लाग्छ कोरोना बीमा गर्न
कोरोना बीमा कार्यविधि अनुसार कोरोना बीमाअन्तर्गत एक लाख र ५० हजार रुपियाँ गरी दुई प्रकारको बीमाङ्क तोकिएको छ । एक लाख रुपियाँको प्रतिव्यक्ति एक हजार र ५० हजारको प्रतिव्यक्ति पाँच सय रुपियाँ बीमा शुल्क रहेको छ । यदि परिवारको सम्पूर्ण सदस्यको बीमा गर्नुपरेमा एक लाख रुपियाँका लागि छ सय र ५० हजार रुपियाँको लागि तीन सय रुपियाँ शुल्क लाग्छ ।

बीमा गर्दा कुनै पनि नेपाली नागरिक भारतलगायत तेस्रो मुलुकबाट आएको भएमा १५ दिन अनिवार्य रूपमा क्वारेन्टाइन र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात चाहिने व्यवस्था छ ।

कोरोना बीमा गरेको १५ दिनपश्चात् कोरोना देखिएमा मात्रै दाबी भुक्तानी गर्न सकिने समितिले जनाएको छ । दाबी गरेको सात दिनभित्र बीमा कम्पनीले दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । दाबी भुक्तानीका लागि पीसीआर रिपोर्ट पोजेटिभ आएको र बीमा गर्दाको कागजात सम्बन्धित कम्पनीमा पेस गर्नुपर्नेछ ।

कोरोना बीमा नयाँ अभ्यास
विश्वका धेरै मुलुकमा महामारीको बीमा गरिँदैन न त यस्ता कार्यक्रमको पुनर्बीमा नै हुन्छ । युद्ध र महामारीको बीमा नहुने विश्वव्यापी प्रचलन छ तर नेपालमा भने कोरोना भाइरस महामारीको बीमा गर्ने नीति बीमा समितिले अघि सारेर नयाँ अभ्यास गरेको छ । कोरोनाको बढ्दो सङ्क्रमणमा यस खालको बीमाको उपयोगिता देखिएको छ ।

नेपालमा हाल सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनी संलग्न ‘पुल’मार्फत सुरु भएको कोरोना बीमा कार्यक्रम अन्य बीमा कार्यक्रमभन्दा फरक प्रकृतिको रहेको छ । कोरोना बीमा पनि महामारीअन्तर्गत नै भएको हुनाले, पुनर्बीमा नगरिने भएका कारण बढ्दो महामारीलाई यो कार्यक्रमले धान्छ कि धान्दैन भन्ने जिज्ञासामा अजोड इन्स्योरेन्सका डेपुटी सीईओ सुरेन्द्र थापा भन्नुहुन्छ, “यो बीमा कम्पनीहरूको व्यवसाय मात्रै होइन, सामाजिक दायित्वका रूपमा आएको हो । बीमा कम्पनीको सामाजिक दायित्वका रूपमा हेरेका छौँ । ”

कोरोना बीमा कार्यक्रमको पुलमा २० वटा निर्जीवन बीमा कम्पनीले एक अर्ब, पुनर्बीमा कम्पनीले एक अर्ब, बीमा समितिले एक अर्ब र बीमा कम्पनीहरूको महाविपत्ति कोषमा ५० करोडसमेत गरेर साढे तीन अर्ब रकम रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, कोषमा सामान्यतया एउटा कम्पनीको भागमा चार करोड पर्छ ।

प्रिमियमबाट कम्पनीहरूले उठाउँदै छन् । प्रिमियम जति उठ्यो त्योबाहेक थप्नुपर्ने रकमलाई कम्पनीहरूले आफ्नो
दायित्व सम्झेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा भेषराज बेल्बासेले लेखेका  छन।

IME Lifesidebar
kumari