प्रतिबन्धित औषधिहरुको बिक्री बढ्यो
काठमाडौं । औषधि व्यवसायीहरुले औषधि व्यवसायीहरुलाई पनि बीमामा जोड्नुपर्ने माग राखेका छन् । शुक्रवार नेपाल औषधि व्यवसायी संघको दोस्रो वार्षिक साधारण सभामा बोल्दै व्यवसायीहरुले यस्तो माग राखेका हुन् ।
कायक्रममा बोल्दै वागमती प्रदेशका औषधि विभागका अध्यक्ष ध्रुवनारायण श्रेष्ठले औषधि व्यवसायीहरुलाई बीमामा संलग्न गर्न नसके निकट भविष्यमा नै औषधि पसलहरु बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने बताउनु भयो ।
उहाँले बीमामा औषधि व्यवसायीहरुलाई किन सरकारले संलग्न गर्न नसकेको भन्दै प्रश्न गर्नुभयो । अध्यक्ष श्रेष्ठले औषधि व्यवसायीलाई पनि बीमामा संलग्न गरेर व्यवसाय सुरक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीमा इन्स्योरेन्सको समस्या धेरै बढेको छ । इन्स्योरेन्सको कारणले गर्दा हाम्रो व्यवसायीहरुको पसल बन्द गर्नुपर्ने अवस्था आइसकेको छ ।
हामी सबै नेपालीहरु यो इन्स्योरेन्समा जोडिनुपर्छ । सरकार उपस्थित नभएको ठाउँमा हामी व्यवसायीले सेवा दिइरहेका छौँ, सरकारको पनि उद्देश्य भनेको पीपीएम छ भने इन्स्योरेन्सको पोलिसीमा हामी औषधि व्यवसायीहरुलाई किन संलग्न गराउन नसक्ने रु बीमा समितिसँग वा अरु मन्त्रालयसँग कुरा गर्ने हो की त्यससँग लविङ गरेर औषधि व्यवसायीहरुलाई बीमामा संलग्न गर्न नसके निकट भविष्यमा हाम्रो औषधि पसल बन्द गर्नुपर्ने अवस्थामा पुग्नेछ ।
औषधि व्यवसायीहरुलाई पनि इन्स्योरेन्समा सहभागी गराइयोस्, हाम्रो व्यवसाय सुरक्षित गरियोस् ।’
कार्यक्रममा औषधि व्यवसायी डा। सन्तोष केसीले नेपालमा औषधि फार्मेसीहरुलाई घटाइ व्यवस्थित गर्नुपर्ने बताउनु भयो । उहाँले औषधि पसलहरु नियन्त्रित व्यवसायभित्र पर्ने भएकाले राज्यले निरीक्षण गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो नेपाल एकदमै धेरै फार्मेसी भएको ठाउँ रहेछ । अमेरिकामा भन्दा पनि धेरै घनत्व छ । १८ सय जना बराबर एउटा फार्मेसी रहेछ, यस्तो कतै पनि हुँदैन ।
औषधि पसलहरु भनेको नियन्त्रित व्यवसाय भित्र पर्छ, यो एउटा उपभोग्य वस्तु भएपनि यो अन्य किसिमका वस्तु जस्तो होइन । त्यसैले यसमा राज्यले सोच्नुपर्ने हुन्छ, यसलाई कसरी हामी कम बनाइ व्यवस्थापन गर्ने । यो प्रवृत्तिलाई हामीले हटाउनुपर्छ ।
यससँगै विकृतिहरु बढेका छन् । कतिपय अमर्यादित रुपमा पनि औषधि व्यवसाय सञ्चालन भइरहेको देखिएको छ । विभिन्न रोक लगाइएका औषधिहरु गैरकानूनी रुपमा बेच्ने, यो प्रकृति बढेको छ, यसलाई निरुत्साहीत गर्नुपर्छ, यसमा राज्यले मात्रै सक्दैन, तपाईहरु पनि जागरुक हुनुपर्छ । औषधि फार्मेसी पसलहरुलाई कसरी घटाउने र कसरी बढी भन्दा बढी सेवामुखी भावना र व्यवसायिक रुपले अघि बढ्न सकिन्छ ।’
औषधि व्यवसायी केसीले फार्मेसीहरुमा विकृति धेरै बढेको बताउनु भयो । उहाँले अमर्यादित रुपमा व्यवसायहरु सञ्चालन भइरहेको उल्लेख गर्नुभयो । उहाँले रोक लगाइएका औषधिहरु गैरकानूनी रुपमा बेच्ने काम भइरहेको भन्दै यसलाई सरकारले समयमा नै निरीक्षण गरी कारबाही गर्नुपर्ने बताउनु भयो ।