चार खाद्यवस्तुको मापदण्ड तयार
काठमाडौँ । सरकारले विभिन्न प्रकारका खाद्यान्नको मापदण्ड निर्धारण गरी कार्यान्वयनमा ल्याएको छ । बजारमा मापदण्ड पूरा नगरी खाद्य तथा खाद्यजन्य पदार्थको बिक्री हुन सक्ने हुँदा त्यसको नियमन र व्यवस्थित गर्न मापदण्ड तयार गरिएको हो ।
मापदण्ड भएपछि बजारमा वितरण कमसल, न्यून गुणस्तरको खाद्यवस्तुको बिक्री नियन्त्रण गर्न सकिने अपेक्षा गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न चार प्रकारका खाद्यान्नको मापदण्ड तयार गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालय मार्फत मन्त्रिपरिषद्मा पेस गरेको थियो । मन्त्रिपरिषद्ले हालै ती मापदण्ड स्वीकृत गरेसँगै कार्यान्वयनमा आएको हो ।
विभागले स्तरोन्नति गरिएको चामल (फोर्टिफाइड राइस), अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर निर्धारण, रोल्ड ओट्सको गुणस्तर निर्धारण र खाद्य पदार्थमा हेभी मेटल (गह्रौँ धातु)को अधिकतम मात्रा निर्धारण गरी कार्यान्वयनमा ल्याएको हो । सरकारले खाद्य ऐन, २०२३ ले दिएको अधिकार प्रयोग गरी खाद्य वस्तुको गुणस्तर निर्धारण गरी राजपत्रमा प्रकाशित गरेसँगै कार्यान्वयनमा आएको छ ।
विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवं प्रवक्ता मोहनकृष्ण महर्जनले विभिन्न प्रकारका खाद्यवस्तुको मापदण्ड तयार गरी कार्यान्वयनमा आएको बताउनुभयो । बजारमा बिक्री हुने कमसल, अखाद्य खाद्यवस्तुको नियमन गर्न गुणस्तर र मापदण्ड तयार गरिएको उहाँले जानकारी दिनुभयो । अन्य चामलमा मापदण्ड भए पनि पौष्टिक तत्त्व वृद्धि गरिएको चामलको मापदण्ड नहुँदा नयाँ मापदण्ड तयार गरिएको उहाँले जानकारी दिनुभयो ।
पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल पोषण कम भएका र रक्तअल्पता भएका व्यक्तिलाई लाभदायक हुने महर्जनले जानकारी दिनुभयो । पौष्टिक तत्त्व वृद्धि गरिएको चामल (फोर्टिफाइड राइस) चामल भन्नाले चामलमा पोषक तत्त्व थप गरिएको चामलको दाना ०.५ प्रतिशतदेखि २ प्रतिशतसम्म मिसाउँदा आवश्यक गुणस्तर पुगेको चामल हो ।
फोर्टिफाइड राइस पौष्टिक तत्त्व वृद्धि गरिएको चामल पोषक तत्त्व कम भएका व्यक्तिका लागि उपयोगी हुने बताइएको छ । पछिल्लो समय उद्योगी व्यवसायीले यस चामलको उत्पादन गरी बजारमा वितरण गर्न थालेका छन् । विभागले निर्धारण गरेको मापदण्ड पूरा गरेर मात्र बिक्री गर्नुपर्ने हुन्छ ।
पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल अस्वाभाविक गन्ध र स्वादरहित हुनुका साथै ढुसी, कीरा नलागेको र बाह्य रङ तथा तोकिएकोबाहेक अन्य बाह्य पदार्थ मिसिएको हुन नहुने व्यवस्था गरिएको छ ।
स्तरोन्नति गरिएको चामलमा आइरन, जिङ्क, भिटामिन ए, फोलिक एसिड, भिटामिन बी–१२ मिसाइएको हुन्छ । प्रतिकेजी चामलमा आइरनको मात्रा ३९ देखि ७२ मिलिग्राम रहनुपर्ने मापदण्डमा उल्लेख छ ।
स्तरोन्नति गरिएको चामलमा प्रतिकेजी चामलमा जिङ्कको मात्रा ३२ देखि ५९ मिलिग्राम, भिटामिन शून्य दशमलव ८९ देखि २ दशमलव २१ मिलिग्राम, फोलिक एसिड शून्य दशमलव २४ देखि शून्य दशमलव ५९ र भिटामिन बी–१२ शून्य दशमलव ००७ देखि शून्य दशमलव ०२ मिलिग्राम हुनुपर्ने मापदण्डमा निर्धारण गरिएको छ ।
पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामललाई सफा र सुक्खा खाद्य ग्रेडको प्याकेजिङ सामग्रीमा सिलबन्दी गरी प्याक गर्नुपर्ने हुन्छ । प्याकेजिङ सामग्रीको अघिल्लो भागमा पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल भनी अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ ।
स्तरोन्नति गरिएको चामल उत्पादन, प्याकेजिङ, ह्यान्डलिङ, भण्डारण तथा ढुवानीमा स्वच्छतासम्बन्धी कार्यविधि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्वीकृत गरेबमोजिम हुनुपर्छ ।
यस्तै रोल्ड ओट्सको गुणस्तर मापदण्डमा बाह्य पदार्थ, ढुसी, कीरा, मुसा, काठको टुक्रा, फलामको टुक्रा, सिसाको टुक्रा तथा अन्य हानिकारक पदार्थ हुन नहुने मापदण्डमा उल्लेख छ ।
रोल्ड ओट्सलाई सफा र सुक्खा खाद्य ग्रेडको प्याकेजिङ सामग्रीमा सिलबन्द गरेर प्याकेजिङ गरी लेबलमा खाद्य नियमावली, २०२७ ले तोकेबमोजिम वितरण गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।
यस्तै विभागले अन्नमा आधारित पूरक बाल आहारको न्यूनतम गुणस्तर निर्धारण गरेको छ ।विभागका अनुसार अन्नमा आधारित पूरक बाल आहार (छ देखि ३६ महिनासम्मका शिशु तथा बालबालिकाका लागि उत्पादन तथा प्याकेजिङ गरिएको अन्नमा आधारित पूरक बाल आहार) हो ।
भटमास, बदाम, गेडागुडी, तिल, सूर्यमुखीको दाना, आलस, सुक्खा फलफूल तथा तरकारीलगायतका खाद्य पदार्थ र धुलो प्रयोग गरेर यसलाई बनाउन सकिन्छ । यो छदेखि ३६ महिनासम्मका बालबालिकाले उपभोग गर्ने आहारा भएकाले यसको उत्पादन गर्दा तोकिएको मापदण्ड अनिवार्य पूरा गर्नुपर्छ । मापदण्डअनुसार नभए कानुनबमोजिम कारबाहीको समेत व्यवस्था गरिएको विभागले जनाएको छ ।
यस्तै खाद्य पदार्थमा हेभी मेटल (गह्रौँ धातुमा)को अधिकतम मात्रा निर्धारण गरिएको छ । फलफूूलमा सिसा ९लिड०को अवशेष अधिकतम शून्य दशमलव १ प्रतिशतभन्दा बढी हुन नहुने मापदण्ड छ । खाद्य पदार्थमा तामाको अवशेष शून्य दशमलव १ प्रतिशतदेखि ३० प्रतिशतभन्दा बढी हुन नहुने मापदण्डमा उल्लेख छ । विभागले यसअघि विभिन्न प्रकारका खाद्यवस्तुमा मापदण्ड तयार गरी लागूसमेत गरिसकेको छ ।
खाद्यवस्तुका मापदण्ड
चामल
आइरन, जिङ्क, भिटामिन ए, फोलिक एसिड, भिटामिन बी–१२ मिसाइएको हुनुपर्ने
सिलबन्दी प्याकेजिङ गर्नुपर्ने, अघिल्लो भागमा पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल भनी उल्लेख गर्नुुपर्ने
पूरक बाल आहार
भटमास, बदाम, गेडागुडी, तिल, सूर्यमुखीको दाना, आलसको प्रयोग गर्नुपर्ने
सुक्खा फलफूल तथा तरकारीलगायतका खाद्य पदार्थको प्रयोग गर्नुपर्ने
रोल्ड ओट्स
ढुसी, कीरा, मुसा, काठको टुक्रा, फलामको टुक्रा, सिसाको टुक्रा तथा अन्य हानिकारक पदार्थ हुन नहुने
सफा र सुक्खा खाद्य ग्रेडको प्याकेजिङ सामग्रीमा सिलबन्द, लेबल लगाउनुपर्ने
हेभी मेटल
फलफूलमा सिसा (लिड)को अवशेष अधिकतम ०.१ प्रतिशतभन्दा बढी हुन नहुने
खाद्य पदार्थमा तामाको अवशेष ०.१ प्रतिशतदेखि ३० प्रतिशतभन्दा बढी हुन नहुने आजको गोरखापत्र दैनिकमा समाचार छ ।