stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

खुल्ला मञ्चमा ट्रिपल बेसमेन्ट पार्किङ् र रिचार्ज पीटको डीपीआर प्रक्रिया अगाडि बढाइने

काठमाडौँ महानगरपालिकाको १० औँ कार्यपालिका बैठक सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा २८ मा रहेको खुल्ला मञ्चमा ट्रिपल बेसमेन्ट पार्किङ् र पानी पुनभरण पीटको विस्तृत परियोजना प्रतिवेदन तयार गरिने भएको छ ।

आज महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा राष्ट्रिय सभा गृहमा बसेको १० औँ कार्यपालिका बैठकले नगर विकास कोषको प्राविधिक सहयोगमा यस सम्बन्धी काम गर्ने प्रस्ताव पारित गरेको हो ।

बैठकले सहकारी क्षेत्र हेर्नका लागि छुट्टै समिति गठन गर्ने निर्णय गरेको छ । कार्यपालिका अन्तर्गत अहिले १२ वटा समिति छन् । यसमा विषयविज्ञसहितको एउटा समिति थप हुनेछ । बैठकमा प्रमुख शाहले जानकारी गराउनुभयो ।

बैठकमा पेश भएको खरिद नियमावली स्वीकृत गर्ने सम्बन्धको प्रस्तावमा प्रमुख शाहले, निश्चित सीमासम्मका योजनाहरु वडा आफैँले खरिद गर्न सक्ने बनाउन लागिएको बताउनुभयो ।

विकेन्द्रीकरणलाई व्यवहारिक रुपमा कार्यान्वयन गराउने प्रयास स्वरुप यस्तो व्यवस्था गर्न लागिएको उहाँको भनाइ छ ।

यस विषयमा थप छलफल गरेर अर्को बैठकमा पेश गरिनेछ । नियमावलीमा वडा र केन्द्रको खरिद प्रक्रिया, मूल्याङ्कन र कार्यान्वयन सम्बन्धी व्यवस्था प्रस्ताव गरिएको छ ।

बैठकले काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राधिकरण ऐन कार्यान्वयन गर्न कार्यविधि बनाउने, महिला स्वास्थ्य स्वयमसेविका सम्बन्धी कार्यविधि बनाउनेलगायत निर्णय गरेको छ ।

यस्तै सामाजिक विकास विभागअन्तर्गत विकास सहायता कार्यविधिले तोकेका काम गर्न आवश्यक पर्ने सामग्रीसहित ४२ शीर्षकका दररेट स्वीकृत गरेको छ ।

कार्यपालिकाको बैठकले महानगरअन्तर्गतका ८९ वटा सामुदायिक विद्यालय र १६ वटा बैकल्पिक महिला विद्यालयसहित १ सय ५ वटा विद्यालयका छात्राहरुलाई सेनिटरी प्याड व्यवस्थापन गर्न सशर्त अनुदान रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

कक्षा ६ देखि १२ सम्मका छात्रालाई प्याड उपलब्ध गराउने विद्यालय क्षेत्र विकास कार्यक्रमअन्तर्गत संघीय सरकारबाट चालु आर्थिक बर्षमा करिव १ करोड ६५ लाख रुपैयाँ महानगरलाई प्राप्त भएको छ ।

विद्यालयको शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईईएमआईएस) मा दर्ता भएका लाभग्राही छात्राहरुको संख्याका आधारमा निकासा हुनेछ । यसमा प्रति छात्रा करिब ९ सय ८४ रुपैयाँ पर्छ ।

प्रयोग भइसकेका प्याडको व्यवस्थापन गर्न सेनेटरी प्याड इन्सिनेटर खरिद प्रक्रिया हुनेछ । बैठकमा उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, प्याड प्राप्त गर्ने र इन्सिनेटर प्राप्त गर्ने छुट्टाछुट्टै कार्यक्रम हुन् ।

बैठकले डोटी जिल्लाको पूर्वी चौकी गाउँपालिकालाई भूकम्पीय क्षति व्यवस्थापनमा सघाउ पु¥याउन १० लाख रुपैयाँ सहयोग गर्ने, वडा एक पालिका एक भगिनी सम्बन्ध कार्यक्रम अन्तर्गत बाँकी रहेका प्रदेशबाट विकट पालिका छनौट गर्ने, सहरी स्वास्थ्य केन्द्रको स्तरोन्नतिका लागि आवश्यक समन्वय गर्ने, सफाई कर्मचारी सेवा करारमा लिनेलगायत निर्णय गरेको छ ।

यसै गरी वडा नं. ७ मा सञ्चालन भएको चन्द्रविनायक जात्राका लागि १२ लाख रुपैयाँ वडामा निकासा पठाउने निर्णय भएको छ ।

बैठकले  २८ औँ  महानगर दिवस मनाउन मूल समारोह समिति गठन गर्ने प्रस्ताव पारित गरेको छ । यसका लागि प्रमुखको अध्यक्षतामा उपप्रमुखसहित कार्यपालिकाका सबै सदस्य रहने मुल समारोह समिति गठन भएको छ ।

यस्तै पुरस्कार तथा सम्मान, खेलकुद, सरसफाई, प्रचार प्रसार तथा प्रतिवेदन, अतिथि सत्कारलगायत उपसमिति गठन गर्ने निर्णय भएको छ । यस बर्ष मंसिर २३ गतेदेखि २९ गतेसम्म दिवसअन्तर्गतका कार्यक्रम सञ्चालन हुनेछन् ।

बैठकमा प्रशासनिक तथा व्यवस्थापकीय पक्षमा कार्यपालिका सदस्यहरुले सोध्नुभएको प्रश्नको जवाफमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले चुस्त र प्रभावकारी सेवाका लागि जनशक्तिको उच्चतम उपयोग गरिने बताउनुभयो ।

त्यस क्रममा सम्बन्धित विभागीय प्रमुखहरुलाई प्रस्तावमा राखिएका विषयका बारेमा स्पष्ट पार्न समय दिइएको थियो ।

 

prabhu mahalaxmi
kumari