हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद मुनाफा ३४ प्रतिशतले घटे
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको मर्जर सफल भए पनि वित्तीय सूचकमा हेर्दा खासै सिनर्जी भने देखिन सकेको छैन ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाशिक अवधिमा हिमालयन एभरेष्टको खुद मुनाफा ३४ प्रतिशतले घटेको छ ।
कम्पनीले वित्तीय विवरणमा गत वर्षको यहि अवधिमा दुई कम्पनीको छुट्टा छुट्टै तथ्याङ्कलाई जोडेर प्रस्तुत गरेको छ ।
यसो गर्दा गत वर्षको मुनाफा ५ करोड ७९ लाख थियो । तर चालु आर्थिक वर्षको तीन महिनाको मुनाफा भने तीन करोड ७८ लाख मात्रै छ ।
त्यस्तै खुद बीमा शुल्क आर्जन हुन सकेको देखिएन । हिमालय एभरेष्टको खुद बीमा शुल्क आर्जन ७।६७ प्रतिशतले घटेर २२ करोड २५ लाखमा सिमित भएको छ ।
त्यस्तै दाबी भक्तानी पनि गत वर्षको भन्दा ३८ प्रतिशतले घटेको छ । कम्पनीले समिक्षा अवधिमा ६ करोड ४८ लाख रुपैयाँ मात्रै दाबी तिरेको छ ।
जवकी यस अवधिमा भुक्तानी हुन बाँकी दाबी रकम २ अर्ब रहेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले १० करोड दाबी भुक्तानी गरेको थियो ।
मर्जर पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २३ करोड रुपैयाँ छ । जगेडा कोषमा ५९ करोड ४० लाख रुपैयाँ छ । बीमा कोषमा एक अर्ब १० करोड रुपैयाँ जम्मा भएको छ ।
पूँजी अनुसार मुनाफा नहुँदा प्रतिशेयर आम्दानी ६ रुपैयाँमा सिमित भएको छ । प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ छ ।


























