लकडाउन उल्लघंन गर्ने १०२३ जना नियन्त्रणमा

आर्थिक सञ्जाल २०७७ वैशाख १२ गते शुक्रबार
काठमाडाैं । काठमाडाैं उपत्यकामा लकडाउन उल्लघंन गर्ने २ सय ५६ महिला सहित १ हजार सय २३ जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि बेलुका १७:०० बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो ।
यसै गरी ३ सय ८ वटा दुई पाङ्ग्रे र २४ वटा चारपाङग्रे गरी ३ सय ३२ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाण्डौमा सबै भन्दा बढी ७ सय ८६, ललितपुरमा २ सय १७ र भक्तपुरमा २० जनालाई नियन्त्रणमा लिएको छ ।
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनु भयो ।
लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई उहाँले आग्रह गर्नु भयो । साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा १०४ जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ ।