stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

खेर गयो ६० लाख केजी हरियो चियापत्ति

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल वैशाख ७, २०७७ आइतबार
झापा । झापामा करिब ६० लाख केजी हरियो चियापत्ति खेर गएको छ । चियाको ‘फस्ट फल्स’ टिप्ने बेलामा सरकारले लक डान घोषणा गरेपछि यहाँका बगानमा उत्पादित हरियो चियापत्ति खेर गएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चिया अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
“चिया टिप्न नपाउँदा पत्ति हुर्किएर खेर जाने अवस्था आएको छ । जसका कारण किसानले ठूलो नोक्सान बेहोर्नु परेको हो ।” अहिले नै किसानलाई  १२ करोड रुपैयाँ बराबरको क्षति भएको उनको भनाइ छ ।

इलाम, पाँचथर, धनकुटालगायत पहाडी जिल्लामा समेत १० लाख केजी हरियो चियापत्ति नोक्सान भएको चिया अधिकृत अधिकारीले जानकारी दिए । “पहाडी जिल्लाहरुमा भने १० दिन अघिदेखि चिया टिप्न थालिएकाले धेरै नोक्सान हुन पाएन”, उनले भने । तर झापामा १२ हजार हेक्टरमा चिया खेती हुँदै आएको छ । यहाँ भने टिप्न नभ्याइएको उनको भनाई छ ।

साना किसान चिया व्यवसायी संघ झापाका अध्यक्ष पूर्ण कार्कीले अहिले सबैभन्दा धेरै साना चिया किसान मर्कामा परेको बताए । पत्ति हुर्किएर खेर जाने अवस्था आए पनि बगानमा काम लगाउन नसकिएको उनको भनाई छ । झापामा ३ हजार किसानले चिया खेती गर्दै आएका छन् ।
चिया उत्पादक संघका केन्द्रीय सल्लाहकार चण्डी पराजुलीले ‘फस्ट फल्ड’ को हरियो चियापत्ति ९० प्रतिशत नोक्सान भइसकेको बताए । “राम्रो दाममा बिक्री हुने चियापत्ति लगभग खेर गएको छ”, उनले भने, “केही बगानमा चिया काटेर फालिसकिएको छ । केहीमा काटिँँदैछ ।”
यसैबीच, जिल्ला प्रशासन कार्यालय झापाको रोहवारमा चिया उत्पादक संघ र चिया मजदुर प्रतिनिधिबीच आइतबारदेखि बगान र कारखाना सञ्चालन गर्ने सहमति भएको छ । कामदारलाई मास्क, हात धुन साबुन पानीको साथमा सामाजिक दूरी कायम गराएर सुरक्षित तबरबाट काम सुचारु गर्ने सहमति भएको पराजुलीले बताए ।

अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नम्बर १ का इञ्चार्ज भूपाल सापकोटाले कोरोना भाइरस संक्रमणबाट बच्न तोकिएका स्वास्थ्य मापदण्ड पूरा गर्दै चिया बगान र कारखानाको काम नियमित गर्ने निर्णय भएको बताए ।बगान तथा प्रशोधन कारखाना सञ्चालनका क्रममा तोकिएको स्वास्थ्य मापदण्ड पूरा भए नभएको विषयमा अनुगमन गर्न नेपाल चिया तथा कफी विकास बोर्डको संयोजकत्वमा अनुगमन समिति समेत गठन गरिएको छ ।

समितिमा चिया उत्पादक संघ, झापा उद्योग संघ र ट्रेड युनियनका प्रतिनिधि छन् । यसअघि स्थानीय प्रशासन चिया उद्योगी, मजदुर संघ–संगठनबीच भएको बैठकमा चिया बगानमा सिँचाइ गर्ने, विषादी छर्किने, नाला सफा गर्ने, ठूलो भएको चिया स्किपिङ गर्ने र कारखाना मर्मत गर्ने काम अघि बढाउने विषयमा सहमति भएको थियो ।  रासस
prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long