ट्यांकर चालकले नै पेट्रोलमा पानी मिसाएपछि…

आर्थिक सञ्जाल वैशाख ७, २०७७ आइतबार
काठमाडौं । नेपाल आयल निगमको थानकोटस्थित डिपोबाट बसुन्धरामा रहेको महालक्ष्मी फ्युल सेन्टरले खरिद गरेको पेट्रोलमा ट्यांकर चालकले नै पानी मिसाएको खुल्न आएको छ ।
शुक्रबार सो पम्पले थानकोट डिपोबाट उठाएको ८ हजार लिटर पेट्रोलमा ना ४ ख ३१५६ नम्बरको टयांकरको चालकले नै पानी मिसाएको पुष्टि भएको निगमले जनाएको छ । उक्त पेट्रोल पम्पले शनिबर बिहान पेट्रोल बिक्री गर्नुअघि गुणस्तर जाँच गर्दा पानी मिसाएको भेटिएको थियो ।
पेट्रोलमा पानी देखिएसँगै पम्पले थानकोटस्थित डिपोलाई खबर गरेको थियो । त्यस लगत्तै उक्त पम्पबाट पेट्रोल बिक्री वितरण गर्न बन्द गरिएको थियो ।
पेट्रोलमा पानी मिसिएको घटनाका बारेमा आयल निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधिले छानबिन गर्दा टयांकर चालकले नै पानी मिसाएको पुष्टि भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । टयांकर चालकलाई कारबाही प्रक्रिया अगाडि बढाइसकिएको पनि निगमको भनाई छ । रासस