macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

कोरोना सङ्क्रमण सुरु भएसँगै बन्द गरिएको किमाथाङ्का नाका अझै खुलेन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

सङ्खुवासभा । दुई वर्षअघि कोरोना सङ्क्रमण सुरु भएसँगै बन्द गरिएको किमाथाङ्का नाका अझै खुलेको छैन । चीनसँगको नेपालको नाका नखुल्दा भोटखोलाका नागरिकको दिनचर्यामा समस्या परेको छ ।

लामो समयसम्म नाका नखुल्दा मुख्यगरी भोटखोला गाउँपालिका–१ किमाथाङ्का, २ च्याम्ताङ र ३ हुङ्गुङका नागरिकलाई समस्या परेको हो ।

 

 

सङ्खुवासभा जिल्ला सदरमुकाम खाँदबारीसँग सडक सञ्जाल नजोडिएको त्यस क्षेत्रका बासिन्दा खाद्यान्न, लत्ताकपडालगायतका सामग्रीका लागि चीनको तिब्बतको भर पर्दै आएका थिए ।

किमाथाङ्का र तिब्बतको देन्दाङबीचको कामुखोलाको पुलमा नाका बन्द भएपछि सामान आयात गर्न समस्या भएको स्थानीयको भनाइ छ ।

भोटखोलाका नागरिक रोजगारीका लागि समेत तिब्बत जाने गरेका थिए । काम गर्न बिहान सीमापारि (तिब्बत) जाने र साँझ फर्किने गरेका भोटखोलावासीका लागि आम्दानीको स्रोतसमेत पनि अहिले बन्द भएको छ ।

यसरी आफूहरू अहिले कामविहीन र बेखर्ची भएको भोटखोला गाउँपालिका–१ किमाथाङ्काका थुदोक भोटेले बताउनुभयो । नाका बन्द भएपछि किमाथाङ्का र आसपासको व्यापार व्यवसाय पनि बन्द भएको छ । तिब्बतबाट सामान ल्याएर बिक्री गर्ने किमाथाङ्काका सबै पसल अहिले बन्द भएको भोटखोला गाउँपालिका–१ किमाथाङ्काका वडाध्यक्ष नुर्बु च्यावाले बताउनुभयो ।

नाका बन्द हुनुअघि चीन सरकारले नै तिब्बतको चाँगा बजारमा निर्माण गरिदिएको एक व्यापारिक भवनबाट खाद्यान्न सामग्री नेपाल पनि निर्यात गरिन्थ्यो । सोही व्यापारिक भवनमा सञ्चालन गरिएको पसलबाट नेपाल सामान भिœयाएर किमाथाङ्का क्षेत्रमा बिक्री वितरण गरिँदै आएको थियो ।

नाका बन्द भएपछि ती पसल बन्द भएको वडाध्यक्ष च्यावाले जानकारी दिनुभयो ।कोरोना महामारीपछि बन्द भएको नाका तत्काल खोलेर जीवनयापनमा सहजता ल्याउनुपर्ने भोटखोलावासीको माग छ ।

पछिल्लो समय कोरोना सङ्क्रमण दरसमेत न्यून हुँदै आएकाले नाका खोल्न नेपाल सरकारले पहल गर्नुपर्ने भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेको माग छ । किमाथाङ्का नाका खोल्न जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गरिए पनि हालसम्म कुनै प्रतिक्रिया नआएको अध्यक्ष भोटेको गुनासो छ ।

नाका खोल्न पाँच महिनाअघि नै गृह मन्त्रालयलाई पत्राचार गरिसकिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताउनुभयो ।

नाका खोल्न परराष्ट्र, अर्थ र उद्योग तथा वाणिज्य मन्त्रालयको पनि भूमिका रहने भएकाले उक्त मन्त्रालयहरूको समेत ध्यानाकर्षण हुनेगरी पत्राचार गरिएको प्रजिअ खतिवडाले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकाम खाँदबारीबाट किमाथाङ्का १६२ किलोमिटरको दूरीमा पर्छ । भोटखोलाको वरुण दोभानसम्म कच्ची सडकबाट यातायात सञ्चालन भए पनि वडा नम्बर २ च्याम्ताङदेखि घुङगाप्पासम्म सडकको ट्र्याक नखुल्दा ढुवानीमा समस्या परेको छ । उक्त खण्डको १०।५ किलोमिटरको सडक ट्र्याक खोल्न नेपाली सेनाले काम गरिरहेको छ ।

himalayan life insurance
igi long
NTA long ad