२०७७ वैशाख १ गते बाट भ्रमण बर्ष २०२० को सचिवालय विघटन हुने

आर्थिक सञ्जाल चैत्र १८, २०७६ मंगलबार
काठमाडौं । यसअघि केही समयका लागि स्थगित गरिएको नेपाल भ्रमण वर्ष २०२० पूर्णरुपमा स्थगित गरिएको छ । यस अघि अप्रिलसम्मका लागि भ्रमण बर्या स्थगित गरिएकोमा सरकारले पूर्णरुपमा स्थगित भर्ने निर्णय गरेको हो ।
निकै तामझाका साथ एक बर्षमा २० लाख पर्यटक भित्राउने लक्ष्य सहित सुरु गरिएको नेपाल भ्रमण बर्ष २०२० विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारी फैलिएपछि औपचारिक रुपमा स्थगित गरिएको हो ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार भ्रमण बर्ष स्थगित भएको र यसको सचिवालय आउँदो २०७७ वैशाख १ गते बाट विघटन हुनेछ । सरकारले नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यको नेतृत्वमा नेपाल भ्रमण बर्षको सचिवालय बनाएको थियो ।
नेपालको पर्यटन क्षेत्रको एक प्रमुख स्रोत चीनबाट कोरोना फैलिन सुरु भएपछि भ्रमण बर्ष अन्योलमा परेको थियो । कोरोनाको संक्रमणले विश्वव्यापीरुपमा महामारीको रुप लिन थालेपछि सरकारले नेपाल भ्रमण बर्ष अप्रिलसम्मका लागि स्थगित गरेको थियो ।