ज्यापू महागुथि नेपाःको भवन शिलान्यास
काठमाडौँ । ज्यापू महागुथि नेपाःको भवन ‘ज्यापु देय् छेँ’ को शुक्रबार शिलान्यास भएको छ । काठमाडौँ महानगरको वडा १५ विजेश्वरीमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभएको हो । महागुथि काठमाडौँका आदिवासी ज्यापू जातिको संगठन हो ।
ज्यापू समुदायको निरन्तरताले काठमाडौँका सांस्कृतिक सम्पदा संरक्षण ठूलो टेवा पुगेको बताउँदै शिलान्यास समारोहमा प्रमुख शाक्यले, समुदायको प्रयासमा महानगरले राज्यकोतर्फबाट सहयोग गरेको उल्लेख गर्नुभयो ।
‘निर्वाचित भएदेखि नै मैले सांस्कृति सम्पदा निर्माण पुननिर्माणमा सहयोग गर्ने भनेको थिएँ । त्यसबेला महानगरले बनाएका संरचनामा उसैले स्वामित्व लिन्छ, समुदायलाई दिँदैन भन्ने भ्रम फैलाइयो । हामीले त्यसो भनेका थिएनौँ ।’ प्रमुख शाक्यले भन्नुभयो, ‘निर्माणपछि सञ्चालन व्यवस्थापनको जिम्मा समुदाय नै दिने नीति थियो ।
केही सम्पदा बनाएर हस्तान्तरण गरेपछि ढिलै भए पनि हाम्रो नीति समुदायलाई बुझाउन सक्यौँ । अलि छिटो भएको भए धेरै काम हुने थियो ।’ साढे ३ आना जग्गामा निर्माण हुने भवनका लागि महानगरले २ करोड रुपैयाँ अनुदान सहयोग गर्नेछ ।
‘ज्यापू जातिले वजाउने धिमे बाजा आज ज्यापू जातिको मात्र नभइ सिंगो राष्ट्रकै सम्पत्ति भइसकेको छ । परम्परागत टोलहरुले सञ्चालन गर्दै आएका जात्रापर्व पनि राष्ट्रिय पर्वको रपमा परिचित हुँदै गएका छन् ।
यी राष्ट्रिय गतिविधि सञ्चालन गर्ने ठाउँ भने जीर्ण र जोखिमपूर्ण छन् । मैले पहिले नै महसुस गरेको थिएँ । आज शिलान्यास गर्ने समय जु¥यो ।’ शाक्यले थप्दै भन्नुभयो, ‘ परम्परा र मौलिकता बचाउने दायित्व महानगरको हो । यसमा गर्नुपर्ने सहयोग उपलब्ध हुनेछ ।’
समय अनुसार बढ्दै गएको मूल्यले परम्परागत जात्रा पर्व सञ्चालन गर्न कठिन हुने चरणमा पुगेको बताउँदै महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले, परम्परागत जात्रापर्वसँग सम्बन्धित कामका लागि अक्षय कोष निर्माण गर्दै जानु पर्ने बताउनुभयो ।
जग्गा नभएका कारण भवन निर्माण गर्ने सोचलाई अगाडि बढाउन सकिएको थिएन । कार्यक्रममा बोल्दै ज्यापू महागुथि नेपाःका अध्यक्ष लोक कवि राजभाइ जकमिले चमति जग्गा एकीकरण आयोजनाभित्र बोलपत्रको माध्यमबाट जग्गा खरिद भएपछि भवन निर्माणको सपना पूरा हुने चरणमा पुगेको बताउनुभयो ।
भवन ५ तले हुनेछ । महागुथिका महासचिव मचाराजा महर्जनका अनुसार भवनमा परम्परागत बाद्य तथा नृत्य प्रशिक्षण, बैठक, भेटघाटलगायतका क्रियाकलाप हुनेछन् । भवनमा बाजागाजा राख्ने कक्ष, सभा कक्ष, महागुथिको परम्परागत सामग्रीहरु प्रदर्शनी कक्षलगायत ठाउँ हुनेछन् ।


























