भिजिट भिसाबाट सुन तस्करी सुरू
काठमाडौं । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका स्थायी ठेगाना भएका दावा छिरिङ शेर्पा केही समयअघि मात्रै भिजिट भिसामा संयुक्त अरब इमिरेटस गएका थिए । उनलाई राम्रो रोजगारका लागि पठाउने व्यक्तिले भने अनुसारको काम खोजिदिन सकेन ।
उनी इमिरेटसकै शारजहाँमा केही महिनादेखि अलपत्र थिए । काम र दाम दुबै नभएर भौतारिएका दावाले केही दिन अघि एकजना भारतीय नागरिकलाई भेटे ।
ती भारतीयले दावालाई आफ्नो सामान बोकेर नेपाल जाने भए विमान भाडा र पचास हजार रुपैयाँ दिने बताएपछि उनी सुन तस्करीको भरिया बने । घर फर्कन आत्तिएका दावाले आफुले गर्ने कामको सजायका बिषयमा सोच्दै नसोची भारतीय भने अनुसार एक किलो भन्दा बढी तौलका तीनवटा डल्ला मलद्धारमा छिराएर विमान चढे ।
तर उनले मलद्धारमा राखेका तीनमध्ये एउटा सुनको डल्ला त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा अवतरणसँगै झरि सकेको थियो । उनले त्यसलाई भित्रिबस्त्रमा अड्याएर भन्सार पार गर्न खोज्दै थिए ।
प्रहरीले सुन तस्करी भैरहेकाे आशंकामा विभिन्न विमानमा युएईबाट आएका चार–पाँच जना शंकास्पदलाई नियन्त्रणमा लिएकाे थियाे। विमानस्थलबाट अवैध सुन ल्याउनेको एउटा डल्लो त भित्रि वस्त्रमै झरेको देखियाे ।
विमानस्थलमा खटिएको प्रहरी, उपत्यका अपराध अनुसन्धान शाखा र भन्सारसहितको टोलीले दावाका साथबाट एक किलो १५५ ग्राम सुन बरामद गरेकाे थियाे । साथै संयुक्त टोलीले अन्य दुइ जनाका साथबाट पनि आईफोन १३ प्रोम्याक्स ४ थान बरामद गरेको छ ।
पक्राउ पर्ने अन्य दुईमा गौर नगरपालिका–१० रौतहट घर भएका ३२ वर्षीय सुनीलकुमार साह र मनहरी–७ मकवानपुरका नवराज परियार रहेका छन् ।
प्रहरी स्राेतका अनुसार साह र परियार दुबईबाट हिमालय एयरलाइन्स तथा शेर्पा सारजहाँबाट एयर अरेबिया मार्फत बुधबार राती आइपुुगेका थिए । विमानस्थल प्रहरीले सुनको मूल्य ८३ लाख ३८ हजार २ सय ४७ रुपैयाँ र मोबाइल तथा एकसय ग्राम सुनको गरि करिब एक करोड रुपैयाँ बराबरको धनमाल बरामद भएको जनाएको छ । प्रहरीले पक्राउ परेका तीनै जनालाई बरामद सामान सहित विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाएको जनाएकाे छ ।

























