stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सेनाको भूतपुर्व सम्मेलन चैत्र ९ बाट हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली सेनाले चौथो चरणको भूतपूर्व सैनिक सम्मेलन आउने २०७८ चैत्र ९ गतेदेखि २१ सम्म विभिन्न मितिमा आयोजना गर्ने जनाएको छ ।

भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुलाई लक्षित गरी नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्व यो सम्मेलन आयोजना हुँदै आएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यसपटकको सम्मेलन सुदुरपश्चिम प्रदेशबाट सुरु हुने बताइएको छ ।

तालिका अनुसार चैत्र ९ मा दिपायलस्थित ५ नम्बर बाहिनी अड्‍डा, चैत्र १० मा धनगढीस्थित भवानी दल गण, चैत्र २० मा सूर्खेतस्थित पश्‍चिम कमाण्ड मुख्यालय र चैत्र २१ मा नेपालगञ्‍जस्थित ४ नम्बर बाहिनी अड्‍डामा सम्मेलन संचालन हुने जनाइएको छ ।

भूतपूर्व सैनिक सम्मेलनमा डडेल्धुरा, बाजुरा, बैतडी, अछाम, बझाङ्ग, दार्चुला, डोटी, कैलाली, कञ्‍चनपुर, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला, बाँके र बर्दिया जिल्लाहरुमा बसोबास गरी सोही क्षेत्रको बैंकबाट पेन्सन बुझिरहेका नेपाली सेनाका भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिहरु सहभागी हुन सक्ने निर्देशनालयले जनाएको छ ।

सम्मेलनमा सहभागी हुनका लागि भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिहरुले पेन्सन पट्टा तथा सोको प्रतिलिपि र पासपोर्ट साईजको फोटो २ प्रति माघ २४ गते देखि फाल्गुन ३० गते सम्म आफुले पेन्सन प्राप्त गरिरहेको जिल्लामा तैनाथ नेपाली सेनाको युनिटमा गई नाम दर्ता गराउन पर्ने जनाइएको छ ।

कामको सिलसिलामा अन्यत्र जिल्लामा रहेका व्यक्तिहरुले नजिकको हिताधिकारी कल्याण केन्द्र र काठमाडौं उपत्यकाको हकमा महाराजगन्जस्थित नेपाली सेना कल्याणकारी बोर्डमा नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ ।

उक्त भूतपूर्व सैनिक सम्मेलन २०७८ मा सहभागीहरुलाई दैनिक तथा भ्रमण भत्ताको व्यवस्था गरिएको सेनाले जनाएको छ । यस्तै सहभागीहरुलाई फटिग क्यापसल, ट्रयाकसुटरस्वीटर र फस्ट एड किट वितरण गरिने छ । बहालवाला तथा भूपू सैनिकका अशक्त आश्रितहरुलाई व्हिल चियर तथा वैसाखी वितरण गरिने छ ।

विभिन्न कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण गरिने छ । सर्वोत्कृष्ट र उत्कृष्ट लघु उद्यम व्यवसायीहरुलाई पुरस्कार वितरण गरिने छ । जेष्ठ भूपू सैनिक तथा जेष्ठ एकल महिलालाई सम्मान गरिने छ ।

आफ्ना ४ जना वा सो भन्दा बढी सन्तानहरुलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गरेको योगदानको कदर स्वरुप जीवित आमा–बाबु मध्ये एकजनालाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गरिने जनाएको छ । बिरामीहरुलाई विशेषज्ञ डाक्टरद्वारा सबै रोगको उपचार लगायतका स्वास्थ्य उपचार सुविधा प्रदान गरिनुका साथै कोभिड खोप नलगाएकाहरुको हकमा खोपको समेत ब्यवस्था गरिने सेनाले जनाएको छ ।

यस्तै आँखा चेकजाँच गरी आवश्यकता अनुसार निःशुल्क चस्मा वितरण समेत गरिनेछ । सो सुविधाहरु प्राप्त गर्नको लागि सम्बन्धितले अनिवार्य रुपमा उपचार पुस्तिका लिएर आउनु पर्नेछ ।
साथै, सम्मेलन सम्बन्धमा थप जानकारीको लागि टेलिफोन नंम्वर ०१४४१२४०७, ०१४४११०३१, ०१४४१२१६५, ०८३४१४०२३ र ०८३४१४०४५ मा सम्पर्क गर्न सकिने नेपाली सेनाले जनाएको छ ।

prabhu mahalaxmi
kumari