सैनिक पोशाक भंन्सारद्वारा जफत र जरिवाना
काठमाडौं । गृह मन्त्रालयले जारी गरेको निर्देशन विपरित नेपाली सेनाले प्रयोगमा ल्याएको जंगी पोशाक (चुस्ता–क्यामोफ्ल्याग) सँग मिल्दोजुल्दो कपडा चीनबाट आयात गर्ने कम्पनीलाई तातोपानी भन्सार कार्यालयले कपडा जफत गरि कारबाही गरेको छ ।
तातोपानी भन्सार कार्यालयले जंगी पोशाक ल्याउने सतिदेवी इन्टरप्राइजेज गोंगबु र यसका संचालकलाई नौ लाख रुपैयाँ विगो, विगो बराबरको जरिवाना र आयात गरिएको माल जफतको निर्णय गरेको छ ।
तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारदप्रसाद गौतमले गृह मन्त्रालयको निर्देशन बिपरित माल आयात गर्ने कम्पनीलाई भन्सार ऐन अनुसार कारबाही भएको बताएका छन । गौतमले आफुले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने कारबाही गरेको र बाँकी अन्य निकायले कारबाही गर्ने वा नगर्ने बिषयमा जानकारी नभएको बताएका छन ।
‘आयातकर्ताले नै आवश्यक कारबाहीका लागि निवेदन दिएका थिए,’ प्रमुख भन्सार अधिकृत गौतमले भने, ‘ हामीले कारबाही गरेर माल जफत गरेका छौं, अन्यका हकमा जानकारी भएन।’
गौतमका अनुसार सेनाको ड्रेससँग मिल्दोजुल्दो २९ सय मिटर कपडा नाकामा आइपुगेको छ । ‘यस्तो कपडा सेनाबाहेक अन्यले आयात गर्न नमिल्ने भएकाले जाँचपास रोकेर अनुसन्धान गरेका थियौ,गृह मन्त्रालयलाई जानकारी गराएका थियौं ।’ गौतमले भने।
तातोपानी भन्सारले गृह मन्त्रालय र सेनासँग बरामद कपडाका बिषयमा सोधपुछ गरेपछि यतिबेला प्रहरीको र सेनाको बेग्लाबेग्लै टोलीले नाकामा बरामद जंगी पोशाकको बिषयमा अनुसन्धान गरिरहेका छन् ।
चुस्ताको क्यारिङ गर्ने सतिदेवी इन्टरप्राइजेज गोंगबुका संचालक इश्वर न्यौपानेसँग प्रहरीले गरेको सोधपुछमा उनले त्यो कपडा काठमाडौंका ब्यापारीले मगाएको बताएका थिए ।
‘सरकारले २०७६ मै जंगी पोशाक आधिकारीक बाहेकले लगाउन, ल्याउन र लगाउन रोक लगाएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘यसरी अवैध रुपमा किन भित्राउन खोजियो भन्ने आशंकापछि अनुसन्धान गरिरहेका छौं । ’
गृह मन्त्रालयले २०७६ साउन १३ मा सुरक्षाकर्मीसँग मिल्दोजुल्दो पोशाक लगाएर आपराधिक गतिविधिमा संलग्न हुने घटना बढेपछि सेनाको आग्रहमा रोक लगाएको थियो । गृहको पत्रमा सेनासँग मिल्दो कपडा सुरक्षा गार्डदेखि सर्वसाधारणसम्मले लगाउन थालेको भन्दै सेनाले पत्र लेखेको थियो ।























