युनिलिभर नेपालको म्याद नाधेको गुणस्तरहीन चिया बजारमा

काठमाडौं । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडा र स्थानीय जनप्रतिनीधिहरुको संयुक्त अनुगमन टोलिले युनिलिभर नेपाल लिमिटेडको मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं. ४ स्थित चिया प्रशोधन कक्षमा गत भदौं १५ गते संयुक्त अनुगमन गर्दा उपभोग्य अवधी नाघी म्याद गुज्रेको, उपभोग्य मिति नै उल्लेख नगरिएका र लेवल विवरणमा मार्करले लेखेका ३५ के.जी. तौलका करिव ९२० वोरा चिया फेला परेकोले उक्त चिया बरामद गरि उक्त उद्योगको प्रशोधन कक्ष शिलबन्दी गरिएको थियो ।
कानून वमोजिम लेवल नभएका म्याद गुजेको गुणस्तरहिन चियालाई प्रशोधन गरि Brook Bond, Read lebal व्रान्डको चिया उत्पादन गरि महङ्गो मूल्यमा उपभोक्तालाई बजारमा बिक्रि वितरण गर्ने गरेको तत्थ्य खुल्न आएको छ ।
यस अवस्थामा उक्त कम्पनीका सञ्चालक तथा व्यवस्थापकहरुका विरुद्ध अनुसन्धान गरि कडा कानूनी कारवाही गर्नु पर्नेमा उल्टो कम्पनीको तर्फबाट कारवाहीलाई निस्तेज गर्ने गरि स्थानीय प्रशासन, खाद्य तथा गुण नियन्त्रण विभाग, मन्त्रालयका अधिकारी लगायत विभिन्न शक्ति केन्द्रमा प्रभाव पार्ने तथा अनुगमनमा संलग्न मञ्चका अधिकारकर्मी उपर धम्की दिने जस्ता कामकारवाही भइरहेको बुझिएको छ।
उपभोक्ताको अथक प्रयासमा प्रशोधन कक्षबाट गुणस्तरहीन अखाद्य वस्तु चिया बरामद भई सकेको अवस्थामा दोषी उपर हालसम्म कुनै कारवाही नहुनु र उल्टै कम्पनीको तर्फबाट कारवाही निस्तेज गर्ने गरि थप अनुचित कामकारवाही हुनु आम नेपाली उपभोक्ताका लागि विडम्वनापूर्ण भएको छ ।
यसर्थ उपभोक्ता विरुद्धको कसूर गर्ने उक्त कम्पनीका सञ्चालक तथा व्यवस्थापकहरुका विरुद्ध कडा कानूनी कारवाही चलाई बजारमा रहेका उक्त ब्राण्डका उत्पादन फिर्ता समेत गराई थप अनुसन्धान समेत गरी उपभोक्ता हित संरक्षण गर्नका लागि सम्वद्ध सरोकारवालाहरु समक्ष नेपाल उपभोक्ता हित संरक्षण मञ्च माग गरेको छ ।
दोषी उपर कारवाही नचलाउने, कमजोर कानून प्रयोग गर्ने, कारवाहीलाई निस्तेज पार्ने, मञ्चका अधिकारकर्मी उपर धम्की दिने जस्ता कुनै गतिविधि कसूरदार र सम्वद्ध नियामक निकायबाट भए आम उपभोक्तालाई सहय नहुने मञ्चका उपमहासचिव विष्णु प्रसाद तिमिल्सिनाले जनाएका छन्।
युनिलिभरलाई जोगाउने खेल बन्द गरि सिलबन्दि गरिएको अखाद्य चिया तत्काल नस्ट गर्न अति आवश्यक छ।
मञ्चका केन्द्रिय सदस्य बासु प्रसाद खतिवडा समेतको हस्तक्षेपले गत भदौं १५ मा युनिलिभर नेपाल मकवानपुरमा उपभोग्य मिति नाघेको , लेबलमा नै Best Before Date सकिएर म्याद नाघेको , लेबलमा मार्करबाट हातले लेखेको ९२० बोरा चिया परिक्षणको लागि नमूना काठमाडौं पठाएको र हालसम्म प्रतिबेदन आएको छैन।
लेबलमा म्याद सकिएको बस्तु परिक्षण गर्नु पर्दैन , तत्काल खाद्य निरीक्षक वा निरीक्षण अधिकृतले नस्ट गर्नुपर्छ । युनिलिभरलाई उन्मुक्ति दिने काम बन्द गरि यो कम्पनीको सबै उत्पादन उपर छानबिन गर्न,सिलबन्दि गरिएको म्याद सकिएको सबै बस्तु नस्ट गर्न र कानुन तत्काल कार्यान्वयन गर्न माग गरिएको छ।